काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले अपनाएको नयाँ सोच र प्रविधिमैत्री कार्यशैलीबाट गृह मन्त्रालयले समेत सिक्नुपर्ने बताएका छन्। स्थानीय तहले केन्द्र सरकारभन्दा अगाडि बढेर कतिपय प्रणाली कार्यान्वयन गरेको भन्दै उनले महानगरको कामको प्रशंसा गरेका हुन्।
ललितपुर महानगरले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’ शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले महानगरका नवप्रवर्तनात्मक कामलाई निरन्तरता दिनुपर्ने बताए।
उनका अनुसार गृह मन्त्रालयले अहिले कार्यान्वयन गरिरहेका कतिपय प्रणाली ललितपुर महानगरले तीन वर्षअघि नै लागू गरिसकेको छ। महानगरको कार्यशैलीबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले सरकारी निकायले पनि यस्तै प्रभावकारी र आधुनिक ढंगले काम गर्नुपर्नेमा जोड दिए।
गुरुङले आफू राजनीतिमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आएको दाबी गर्दै नागरिकलाई दल वा राजनीतिक आस्थाका आधारमा विभेद नगरी समान व्यवहार गर्ने प्रतिबद्धता पनि जनाए।
उनले ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति र परम्परा संरक्षणमा पुर्याएको योगदानको समेत प्रशंसा गरे।






































