काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधान परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको छ। मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित विधान संशोधन कार्यदलले पूर्णता पाएसँगै अब संशोधनको ठोस गृहकार्य सुरु हुने भएको हो।

बुधबार बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको थियो। कार्यदललाई ७ दिनभित्र काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कार्यदलको पहिलो बैठक बस्दैछ।

कार्यदलमा बुर्लाकोटीसहित प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा. राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी, समिना मियाँ र स्मृति सेन्चुरी सदस्य रहेको विवरण सार्वजनिक भएको छ।

रास्वपाले हालै मात्रै महाधिवेशनमार्फत पार्टीको विधान तथा अन्य दस्तावेज तयार गरेको अवस्थामा संसदीय दलको आफ्नै विधानसमेत समयअनुकूल बनाउने प्रक्रिया थालेको हो। यसले पार्टी र संसदीय दलको संरचना, भूमिका तथा कार्यप्रणालीलाई थप व्यवस्थित बनाउने तयारीका रूपमा हेरिएको छ।

यो प्रक्रिया रास्वपाभित्र संसदीय दलको भूमिका र आन्तरिक समन्वयबारे छलफल चलिरहेका बेला अघि बढेको हो। बुधबारकै संसदीय दलको छलफलमा सांसदहरूले सरकारको कामकारबाही, संसद्मा प्रभावकारी भूमिका र मन्त्री–सांसदबीचको समन्वयका विषय उठाएका थिए।