काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) लाई तीन कार्यदिनका लागि निलम्बन गरेपछि पुँजी बजारमा विवाद चर्किएको छ। ब्रोकरको गल्तीको असर निर्दोष लगानीकर्तामाथि परेको भन्दै सेयर बजार लगानीकर्ता संघले नेप्सेको निर्णयप्रति आपत्ति जनाएको हो।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसमा नेप्सेले तोकिएको समयभित्र राफसाफ तथा फर्छ्योट नगरेको भन्दै ब्रोकरलाई निलम्बन गरेको थियो। तर सिफारिस र निलम्बनको निर्णय एउटै दिन गरिएको भन्दै संघले नियामकीय प्रक्रियामाथि नै प्रश्न उठाएको छ।
संघका अनुसार निलम्बनसँगै हजारौँ ग्राहकको सेयर कारोबार प्रभावित भएको छ। ग्राहकको मौज्दात रकम, सेयरको सुरक्षा र चालु कारोबार कसरी फर्छ्योट गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा लगानीकर्तामा अन्योल र त्रास बढेको संघको दाबी छ।
बजार घटिरहेका बेला कारोबार गर्न नपाउँदा लगानीकर्ताले सेयर बेच्ने वा खरिद गर्ने अवसर गुमाउन सक्ने र त्यसबाट प्रत्यक्ष आर्थिक क्षति हुनसक्ने संघले जनाएको छ। ब्रोकर वा पदाधिकारीको कमजोरीको भार ग्राहकलाई बोकाउनु न्यायोचित नभएको उसको भनाइ छ।
संघले सम्बन्धित ब्रोकरका ग्राहकको कारोबार तत्काल खुलाउन वा वैकल्पिक ब्रोकरमार्फत कारोबार गर्ने व्यवस्था गर्न माग गरेको छ। साथै दोषी ब्रोकर तथा पदाधिकारीमाथि मात्र अनुसन्धान र कारबाही गर्न तथा ग्राहकको रकम र सेयर सुरक्षित रहेकोबारे नेप्से र सीडीएससीले तत्काल स्पष्ट जानकारी दिन माग गरिएको छ।
भविष्यमा यस्ता समस्या दोहोरिन नदिन ग्राहकको रकम तथा सम्पत्ति छुट्टै सुरक्षित राख्ने व्यवस्था, ब्रोकर स्थानान्तरणको तत्काल संयन्त्र र क्षतिपूर्ति कोष प्रभावकारी बनाउनुपर्ने संघको माग छ।
ब्रोकरमाथिको कारबाहीले ब्रोकरभन्दा बढी लगानीकर्तालाई नै असर गरेको भन्दै उठेको यो विवादले नेपालको पुँजी बजार नियमन प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ। अब नियामकले दोषीमाथि कारबाहीसँगै हजारौँ लगानीकर्ताको कारोबार र सम्पत्तिको सुरक्षा कसरी सुनिश्चित गर्छ भन्ने विषय निर्णायक बन्नेछ।






































