काठमाडौं । सरकारले खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदले बजारको अवस्थामाथि प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मोहनलाल आचार्यले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सदनमा ग्यासको कुनै समस्या नरहेको बताए पनि व्यवहारमा उपभोक्ताले अझै ग्यास नपाइरहेको बताएका हुन्।
आचार्यले संसदमा सरकारको दाबी र बजारमा देखिएको अवस्थाबीच ठूलो अन्तर रहेको बताए। उनका अनुसार ग्यास अभाव नभएको सरकारी भनाइका बाबजुद सर्वसाधारणले सहज रूपमा खाना पकाउने ग्यास पाउन नसक्दा समस्या झन् जटिल बन्दै गएको छ। दैनिक उपभोगसँग प्रत्यक्ष जोडिएको वस्तु सहज रूपमा उपलब्ध गराउने जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने उनको भनाइ छ। ग्यासको आपूर्ति सहज बनाउन सरकारले के योजना बनाएको छ भन्ने प्रश्न गर्दै आचार्यले तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए। उनले ग्यासको विकल्प खोज्ने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। विशेषगरी विद्युतीय ऊर्जाको प्रयोग बढाएर ग्यासमाथिको निर्भरता घटाउनेतर्फ सरकारले स्पष्ट नीति र कार्ययोजना ल्याउनुपर्ने उनको माग छ।
उनले विद्युतीय सामग्रीको प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताए। ग्यास अभावका बेला मात्र विकल्प खोज्नेभन्दा दीर्घकालीन रूपमा विद्युतीय चुलोलगायतका सामग्रीको प्रयोग बढाउने नीति आवश्यक रहेको उनको भनाइ छ।रास्वपाकै सांसदले सदनमा उठाएको यो प्रश्नले सरकारको ग्यास आपूर्ति व्यवस्थापनमाथि नैतिक र प्रशासनिक दबाब बढाएको छ। एकातिर मन्त्रीले बजारमा अभाव नरहेको दाबी गर्ने र अर्कोतिर सांसदले उपभोक्ताले ग्यास नपाएको विषय उठाउने अवस्थाले सरकारी दाबी र वास्तविक बजार अवस्थाबीचको दूरीबारे बहस सुरु भएको छ।
अब सरकारमाथि मुख्य प्रश्न यही छ-यदि बजारमा पर्याप्त ग्यास छ भने उपभोक्ताले सहज रूपमा किन पाइरहेका छैनन् रु आपूर्ति प्रणालीमा कहाँ समस्या छ र त्यसको समाधानका लागि सरकारले के गर्दैछ रु यी प्रश्नको स्पष्ट जवाफसँगै तत्काल आपूर्ति सहज बनाउनु सरकारको प्राथमिकता बन्नुपर्ने देखिएको छ।






































