काठमाडौं / गत आर्थिक वर्ष २०८२ र ८३ मा विकास बैंकहरूको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधारिएको छ।

खराब कर्जाको व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्चमा कमी तथा ब्याज, शुल्क र कमिसन आम्दानी बढेसँगै विकास बैंकहरूको खुद नाफामा ठूलो वृद्धि देखिएको हो। १६ वटा विकास बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूले आर्थिक वर्ष २०८२ र ८३ मा कुल ९ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा यो नाफा ५ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो, जसअनुसार नाफा करिब ६४ प्रतिशतले बढेको छ।

नाफाका आधारमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ। बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यसपछि मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। साइन रेसुङ्गा र ज्योति विकास बैंकले पनि १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्। राष्ट्रियस्तरका आठ विकास बैंकले मात्रै ८ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यद्यपि, सबै बैंकको अवस्था समान छैन।

नारायणी विकास बैंक गत वर्ष ५ करोड ३७ लाख रुपैयाँ घाटामा गएको एकमात्र विकास बैंक बनेको छ। खुद नाफा बढे पनि वितरणयोग्य नाफा भने ५ अर्ब ६७ करोड रुपैयाँमै सीमित रहेको छ। नियामकीय व्यवस्थाअनुसार कर्जा जोखिम, गैरबैंकिङ सम्पत्ति तथा उठ्न बाँकी ब्याजका लागि थप रकम छुट्याउनुपरेकाले वितरणयोग्य नाफामा दबाब परेको हो। वितरणयोग्य नाफाका आधारमा पनि गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। मुक्तिनाथ विकास बैंकको खुद नाफा उच्च रहे पनि वितरणयोग्य नाफा ६७ करोड रुपैयाँ मात्र रहेको छ। कर्पोरेट, सालपा, सिन्धु र नारायणी विकास बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक रहेको विवरणमा उल्लेख छ। विकास बैंकहरूले आर्थिक गतिविधिमा आएको सुस्तता, कमजोर कर्जा असुली, ऋण नतिर्ने प्रवृत्ति, राजनीतिक अस्थिरता तथा वित्तीय बजारमा बढ्दो प्रतिस्पर्धालाई बैंकिङ क्षेत्रका प्रमुख चुनौतीका रूपमा औँल्याएका छन्।

त्यसका बाबजुद वित्तीय व्यवस्थापनमा सुधार आउँदा समग्र नाफा उल्लेखनीय रूपमा बढेको बैंकहरूको विश्लेषण छ।