हेटौँडा । बागमती प्रदेशमा राप्रपाभित्रको समर्थन विवाद कायमै रहेका बेला प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले किरण थापा मगरलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन्।


एमाले, नेकपा र राप्रपाका प्रदेश सांसदको समर्थनसहित थापाले प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेस गरेका थिए। सोही आधारमा संविधानको धारा १६८ को उपधारा (२)  बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गर्न लागिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।


मुख्यमन्त्रीको नियुक्ति अपराह्न ४ः०५ बजे र शपथ ४ः२० बजे तय गरिएको छ। तर थापालाई समर्थन गरेको विषयमा राप्रपाको प्रदेश संसदीय दल र केन्द्रीय नेतृत्वबीच विवाद चर्किएको छ।


राप्रपा केन्द्रले प्रदेश संसदीय दलको समर्थनलाई अस्वीकार गर्न प्रदेश प्रमुखलाई पत्र पठाइसकेको छ। यही विवादका बीच प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गर्न लागेकाले नयाँ सरकार गठनसँगै बागमतीको सत्ता राजनीतिमा थप टकरावको संकेत देखिएको छ।