नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोटमा दुई दिनदेखि जंगलमा हराइरहेका साढे २ वर्षका बालक सिवान तामाङ सकुशल फेला परेका छन्। गैँडाकोट–१४ भागरस्थित शंखदेवी सामुदायिक वनमा हराएका बालकलाई सुरक्षाकर्मी र स्थानीयको निरन्तर खोजीपछि बिहीबार बिहान उद्धार गरिएको हो।

आमाबुवा रोजगारीका लागि भारतमा रहेकाले सिवान एक वर्षदेखि हजुरआमा हेमकुमारी आलेसँग बस्दै आएका थिए। मंगलबार बिहान हजुरआमा च्याउ टिप्न जंगल गएको बेला बालक पनि पछिपछि जंगलतर्फ पुगेका थिए। पछि बाटो बिराउँदा उनी घनघोर जंगलमै हराएका थिए।

बालक हराएको खबर पाएलगत्तै स्थानीयसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खोजीमा परिचालन भएको थियो। लगातार दुई दिनसम्म जंगलका विभिन्न क्षेत्रमा खोजी गरेपछि बिहीबार बिहान करिब ९ः४० बजे घरबाट करिब डेढ किलोमिटर उत्तरतर्फ झाडीभित्र बालक फेला परेका हुन्।

बालकको गालामा सामान्य कोतारिएको बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उद्धारपछि उनलाई आफन्तको जिम्मा लगाइएको छ।

दुई रात जंगलमा बिताउँदा पनि बालक जीवितै भेटिनुले खोजीमा खटिएको सुरक्षाकर्मी र स्थानीयको निरन्तर प्रयास सफल भएको छ। घनघोर जंगल, जंगली जनावरको जोखिम र चिसो–भोकप्यासबीच बालक सकुशल भेटिनुलाई स्थानीयले निकै सुखद घटनाका रूपमा लिएका छन्।