काठमाडौं । बागमती प्रदेश सरकार गठनको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चर्किएको छ। पार्टीको निर्णयविपरीत एमालेका मुख्यमन्त्री उम्मेदवार किरण थापालाई समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापामाथि कारबाहीको तयारी थालेको छ।
यसै विषयमा निर्णय लिन राप्रपाले आज दिउँसो १२ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आकस्मिक केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। त्यसअघि केन्द्रीय अनुशासन आयोगको बैठकसमेत बस्दैछ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको निर्णयविपरीत एक व्यक्तिले गरेको समर्थनलाई सिंगो संसदीय दलको समर्थन मान्न नसकिने पार्टीको धारणा छ। उद्धव थापालाई १२ घण्टे स्पष्टीकरण सोधिएको छ।
पार्टीले मागेको स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही गर्ने चेतावनी दिएको छ। यसले बागमतीमा सरकार गठनको समीकरणसँगै राप्रपाभित्रको आन्तरिक अनुशासन र नेतृत्वको निर्णय कार्यान्वयनको विषयलाई समेत सतहमा ल्याएको छ।
बागमतीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयले राप्रपाको आफ्नै घरभित्र राजनीतिक टकराव चर्काएको छ। अब उद्धव थापाको स्पष्टीकरण र आकस्मिक बैठकले उनीमाथि कस्तो निर्णय गर्छ भन्ने विषयसँगै बागमतीको सत्ता समीकरणमा पनि चासो बढेको छ।






































