काठमाडौं । पासपोर्ट खरिद प्रक्रियामाथि प्रश्न उठेपछि प्रधानमन्त्री बालेन शाहलाई नै संसदीय समितिमा बोलाएर स्पष्टीकरण लिनुपर्ने माग उठेको छ। नेकपा एमालेका नेता मोहम्मद इस्तियाक राईले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो प्रस्ताव गरेका हुन्।

राईले पासपोर्ट खरिदको विषय सामान्य प्रशासनिक प्रक्रियामा सीमित नरहेको भन्दै यसबारे प्रधानमन्त्रीसँगै प्रत्यक्ष छलफल गर्नुपर्ने बताए। ‘पासपोर्ट खरिदको विषय बाहिर जो आयो, यसबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्छ,’ उनले बैठकमा भने।

उनले सरकारमाथि उठेका प्रश्नको जवाफदेहिता प्रधानमन्त्रीबाटै खोजिनुपर्ने बताएका छन्। राईले पासपोर्ट खरिदसँगै सरकारले गठन गरेको छुट्टै सम्पत्ति छानबिन आयोगको विषय पनि उठाए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारसँग जोडिएको विषयमा सरकारले आफू मातहत छुट्टै आयोग गठन गर्नु संविधान र संस्थागत अधिकारको दृष्टिले प्रश्न उठ्ने विषय भएको उनको भनाइ थियो।

त्यस्तै अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीका सहयोगीहरूले कार्यालयमा बोलाएर घन्टौंसम्म केरकार गरेको भनिएको विषयमा पनि उनले सरकारसँग जवाफ मागे।

सरकारको निगरानी र भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक जिम्मेवारी पाएको अख्तियारकै पदाधिकारीलाई प्रधानमन्त्रीको कार्यालयमा लामो समयसम्म राखेर सोधपुछ गरिएको विषय सार्वजनिक भएपछि त्यसले संवैधानिक संस्थाको स्वायत्ततामाथि प्रश्न उठाएको राईको संकेत थियो।

यससँगै पासपोर्ट खरिद प्रकरणदेखि सम्पत्ति छानबिन आयोग गठन र अख्तियारका पदाधिकारीमाथिको व्यवहारसम्मका विषयमा संसदीय समितिले सरकारसँग जवाफ माग्नुपर्ने दबाब बढेको छ।