भैरहवा / रुपन्देहीमा राहदानी सेवा लिने नागरिकको संख्या उल्लेख्य रूपमा बढेको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आर्थिक वर्ष २०८२ र ८३ को वार्षिक प्रगति विवरणअनुसार एक वर्षमा २४ हजार ५३५ जनाले राहदानीका लागि आवेदन दिएका छन्। राहदानी शुल्कबाट मात्रै कार्यालयले ९ करोड ४६ लाख ७१ हजार ४५१ रुपैयाँ राजस्व संकलन गरेको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार सो अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १७ हजार १२३ र इलाका प्रशासन कार्यालय बुटवलबाट ७ हजार ४१२ राहदानी आवेदन दर्ता भएका हुन्।

वार्षिक विवरणअनुसार २२ हजार ३४७ वटा राहदानी कार्यालयमा प्राप्त भएकोमा २० हजार ९५० वटा वितरण गरिएको छ। बाँकी राहदानी प्रक्रिया पूरा हुने तथा सेवाग्राहीले लिन बाँकी रहेका कारण वितरण हुन नसकेको प्रशासनले जनाएको छ।राहदानीसँगै नागरिकता र राष्ट्रिय परिचयपत्र सेवाप्रति पनि नागरिकको आकर्षण उच्च देखिएको छ। एक वर्षमा २५ हजार ८७३ जनाले वंशजका आधारमा नयाँ नागरिकता प्राप्त गरेका छन् भने २२ हजार २६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ।

यसै अवधिमा १ लाख १ हजार ४०१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको छ। प्रशासनले मिटरब्याज, वैदेशिक रोजगारी तथा नागरिक गुनासासम्बन्धी अधिकांश उजुरी पनि टुंग्याएको जनाएको छ। मिटरब्याजसम्बन्धी २४७ मध्ये १५७ वटा निवेदन फर्छ्योट भएका छन् भने वैदेशिक रोजगारीसम्बन्धी १७३ वटै उजुरी समाधान गरिएको छ। ‘हेलो सरकार’ तथा नागरिकबाट प्राप्त सबै गुनासासमेत फर्छ्योट गरिएको कार्यालयले जनाएको छ।

बजेट कार्यान्वयनतर्फ चालुतर्फ ९३.५४ प्रतिशत र पुँजीगततर्फ ९८.८३ प्रतिशत खर्च भएको छ। राहदानी शुल्क, संस्था नवीकरण, दण्ड–जरिवाना तथा अन्य प्रशासनिक सेवाबाट कार्यालयले एक वर्षमा ९ करोड ९६ लाख ६ हजार ४५१ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। प्रशासनका अनुसार बढ्दो सेवाग्राहीको चापलाई ध्यानमा राख्दै राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्रलगायतका सेवालाई थप छरितो, सहज र प्रविधिमैत्री बनाउने प्रयास भइरहेको छ।