काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट भन्सार छली गरी ल्याइएको करिब ५३ लाख रुपैयाँ बराबरको सामानसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ६ः४५ बजे नागढुंगास्थित चेक प्वाइन्टमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा लुकाएर राखिएका विभिन्न सामान फेला पारेको हो।
बा.प्र.०३–००१ ख ३५३६ नम्बरको बसको भित्री पछाडिको भाग (ड्यासे)मा गोप्य स्टोर बनाएर बिल–बिजकबिनाका मोबाइल, ल्यापटप, टेम्पर ग्लास, कपडा र जुत्तालगायत सामान लुकाइएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामानको प्रारम्भिक मूल्य करिब ५३ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा बस चालक उदयपुर, साविक सोरुङ छबिसे–९ तथा हाल कटारी नगरपालिका–११ का ३४ वर्षीय पविन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले बरामद सामान र चालकलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको जनाएको छ।
बरामद सामानमा के–के छन् ?
प्रहरीका अनुसार बरामद सामानमा iPhone २२ थान, Samsung ४९, Vivo ७५, Motorola १९, Redmi ३२, OnePlus १३, Oppo ३४ र Poco ७ थान मोबाइल रहेका छन्।
त्यस्तै Infinix ३, iQOO ३, Pova २, Tecno ३, Lava १, Narzo १, Nokia २, नाम नखुलेका २, Power २, Huawei १ र Google १ थान मोबाइल पनि बरामद भएका छन्।
यसैगरी ६ थान ल्यापटप, ५ थान ल्यापटप चार्जर, १ थान प्रोटिनको बट्टा, ५३३ थान टेम्पर ग्लास, १७ थान साडी, २१ थान जिन्स पाइन्ट, ३७ थान कुर्थी–सुरुवाल र १५ जोर जुत्ता बरामद भएको प्रहरीको विवरणमा उल्लेख छ।
बसको सामान्य चेकजाँचलाई छल्दै छुट्टै गोप्य स्टोर बनाएर ठूलो परिमाणमा मोबाइल तथा अन्य सामान ल्याइएको खुलेपछि प्रहरीले यसलाई भन्सार छलीको घटनाका रूपमा अनुसन्धान अघि बढाएको छ।






































