गोरखा । फेसबुकमा भरुवा बन्दूक बोकेको फोटो पोस्ट गर्ने एक जना र लाइसेन्सबिनाको भरुवा बन्दुक राख्ने अर्का एकजनालाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ ।
सिरानचोक गाउँपालिका–६, नयाँसाँघुबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२, सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१, खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन् ।
प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो फेसबुक आईडी मार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए । उक्त फोटोका आधारमा उनलाई खोजी गर्ने क्रममा लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो ।
प्रेमलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त भरुवा बन्दुक पालुङटार नगरपालिका–१, खोप्लाङ बस्ने विष्णु सुनारको भएको खुलेपछि प्रहरीले विष्णुलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।






































