बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको निर्मम हत्याविरुद्ध सुरु भएको आन्दोलन झन् चर्किँदै गएको छ। न्यायको माग गर्दै उनका आमाबुबा र आफन्त तीन दिनदेखि वीरगञ्ज-पथलैया सडकखण्डमा धर्ना बसेका छन्। प्रशासनले स्थानीय तथा राजनीतिक दलका प्रतिनिधिसँग गरेको सहमति पीडित परिवारले अस्वीकार गरेपछि सडक अझै खुल्न सकेको छैन।
गरिमाको हत्या केवल एउटा आपराधिक घटना बनेर सीमित रहेन, यो अहिले राज्यको न्याय प्रणालीमाथिको गम्भीर प्रश्न बनेको छ। छोरी गुमाएका आमाबुबाले राहत वा आश्वासनभन्दा पनि न्यायको सुनिश्चितता मागिरहेका छन्। परिवारको स्पष्ट अडान छ- “सहमति होइन, न्याय चाहिन्छ।”
बिहीबार राति प्रशासनले आन्दोलन अन्त्य गर्ने उद्देश्यले स्थानीय तथा राजनीतिक दलका प्रतिनिधिसँग पाँचबुँदे सहमति गरेको थियो। तर उक्त सहमतिमा पीडित परिवारलाई सहभागी नै नगराइएको भन्दै गरिमाका बाबु मनोज चौधरीले त्यसलाई अस्वीकार गरेका छन्। उनका अनुसार जसको छोरी मारियो, उसैलाई थाहै नदिई गरिएको सम्झौता कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।
मनोज चौधरीले अब स्थानीय प्रशासनसँग होइन, सरकारसँग प्रत्यक्ष जवाफ मागेका छन्। गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम स्वयं घटनास्थलमा आएर पीडित परिवारसँग छलफल गर्नुपर्ने उनको माग छ। साथै बलात्कारपछि हत्या जस्ता जघन्य अपराधमा कठोर कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध हुनुपर्ने उनले बताएका छन्।
परिवारको माग यतिमै सीमित छैन। गरिमाका बाबुको भनाइमा यस्ता अपराधीलाई मृत्युदण्ड वा कठोरतम सजायको व्यवस्था नभएसम्म आफूहरूले न्याय पाएको महसुस गर्न सक्दैनन्। “तब मात्र हाम्री फूलजस्ती छोरीको आत्माले न्याय पाउनेछ, र अरू छोरीहरू पनि यस्ता अपराधी मानसिकता भएका व्यक्तिबाट जोगिनेछन्,” उनले भावुक हुँदै भने।
घटनापछि स्थानीयले प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाएका थिए। इलाका प्रहरी कार्यालय सिमराका तत्कालीन डीएसपी दिलीप क्षेत्रीको सरुवाको माग गर्दै आन्दोलन चर्किएको थियो। पछि उनलाई प्रहरी प्रधान कार्यालय तानिए पनि परिवारले त्यसलाई न्यायको विकल्प मान्न अस्वीकार गरेको छ।
सडक खुलाउने प्रयासमा प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ। तर स्थानीयले पीडित परिवारलाई दबाबमा पारेर वा बल प्रयोग गरेर सडक खुलाउने प्रयास गरिए प्रतिवाद गर्ने चेतावनी दिएका छन्। उनीहरूको भनाइमा सडक सञ्चालन आवश्यक भए पनि त्यसका लागि सबैभन्दा पहिले पीडित परिवारको विश्वास जितिनुपर्छ।
तीन दिनदेखि वीरगञ्ज–पथलैया सडक अवरुद्ध हुँदा यात्रु र मालवाहक सवारीसाधन प्रभावित भएका छन्। तर गरिमाको परिवारका लागि अहिले यातायातभन्दा ठूलो प्रश्न छोरीको न्याय हो। उनीहरू भन्छन्- “सडक त पछि पनि खुल्छ, तर गरिमाका लागि न्यायको बाटो पहिले खुल्नुपर्छ।”






































