काठमाडौं / नेपालमा विकसित कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार गर्दै श्रीलङ्काको अग्रणी दूरसञ्चार कम्पनी ‘डायलग आजियाटा’सँग रणनीतिक साझेदारी गरेको छ।
सम्झौतामा टिङटिङको मूल कम्पनी प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलग आजियाटाका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि प्रिक्साका सिईओ शर्माले श्रीलङ्काको प्रतिष्ठित दूरसञ्चार कम्पनीसँगको सहकार्यले नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनका अनुसार यो सहकार्यले नेपाल र श्रीलङ्काबीच प्रविधिमा आधारित सहकार्यलाई समेत थप मजबुत बनाउनेछ। साझेदारीसँगै टिङटिङका ‘कनेक्ट’, ‘ओम्नी’, ‘ब्रोडकास्ट’ र ‘एजेन्ट’ लगायतका एआई सञ्चार समाधानहरू श्रीलङ्काली बजारमा उपलब्ध गराइएका छन्। यी सेवाले विभिन्न डिजिटल माध्यममार्फत ग्राहकसँगको संवाद व्यवस्थापन, स्वचालन, सूचना प्रवाह तथा ग्राहक सेवालाई एकीकृत रूपमा सञ्चालन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्लेटफर्म अहिले नेपाली, अङ्ग्रेजी र सिंहली भाषामा उपलब्ध छ भने श्रीलङ्काली प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै तमिल र सिंहली भाषाका भ्वाइस मोडल थप परिष्कृत गर्ने काम पनि अघि बढाइएको छ।नेपाली प्रविधि कम्पनीले विदेशी बजारमा व्यावसायिक साझेदारी विस्तार गरेको यो कदमलाई स्वदेशी सूचना प्रविधि उद्योगका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
यसले नेपालमा विकसित सफ्टवेयर तथा एआई समाधान अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सक्ने सम्भावनालाई थप बलियो बनाएको छ।






































