काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय संरचनापछि सचिवालयसमेत विस्तार गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले सचिवालयमा १३ जना थप्ने निर्णय गरेको महामन्त्री विपीनकुमार आचार्यले जानकारी दिएका छन्।
सचिवालयमा थपिनेहरूमा गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोतम सुप्रभात यादव, डा। मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल ललितपुर, लिमा अधिकारी आचार्य, दिपकराज बोहरा, समिक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झा रहेका छन्।
यसअघि सोही बैठकबाट ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको रास्वपाले सचिवालयमा समेत नयाँ सदस्य थपेपछि पार्टीको संगठनात्मक संरचना थप विस्तार भएको छ। सचिवालय विस्तारमा पार्टीका विभिन्न तहमा काम गरिसकेका नेताहरूलाई समेटिएको देखिन्छ। शिशिर खनाल, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटीलगायत नेताहरूलाई सचिवालयमा ल्याइएको छ भने नयाँ अनुहारलाई समेत जिम्मेवारी दिइएको छ।
एकै बैठकबाट केन्द्रीय समिति र सचिवालय दुवैतर्फ विस्तार गरेसँगै रास्वपाले आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउने तयारी गरेको देखिएको छ।अब थपिएका १३ सदस्यले सचिवालयमार्फत पार्टीका दैनिक राजनीतिक, सांगठनिक तथा निर्णय प्रक्रियामा भूमिका खेल्नेछन्।






































