धरान / बेथिति र भ्रष्टाचारमा संलग्न भएको भनेर बीपी प्रतिष्ठान धरानमा आन्दोलन जारी रहेकै समयमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीको समेत लगानीमा विराटनगरमा सञ्चालनमा रहेका अस्पतालले ठगी गरेको सार्वजनिक भएको छ ।

OM Sai Pathibhara Hospital
उपकुलपति गिरी सहितको समुहको लगानीमा सञ्चालित विराटनगर अस्पताल र विराट टिचिङ अस्पतालले कोरोना सङ्क्रमितको झुटो विवरण पेश गरी सरकारबाट समेत दोहोरो रकम असुल्न खोजेको तथ्य सार्वजनिक भएको हो । बीपी प्रतिष्ठानमा आन्दोलन चलिरहँदा बेथिति र भ्रष्टाचार हुन नदिने बताईरहेका गिरीले आफुँ समेतको लगानी रहेको अस्पतालले भने सर्वसाधारण र सरकार दुवैबाट दोहोरो रकम असुल गरिरहेको खुलेको हो ।

सरकारसँग कोरोना सङ्क्रमितको निशुल्क उपचार गर्ने सम्झौता गरेको अस्पतालले आफ्नो अस्पतालमा भर्ना भएका बिरामीको ढाड सेक्ने गरी उपचार खर्च लिएर सरकारसँग पनि झुटो विवरण पेश गरी रकम असुल्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी परेपछि विराट अस्पताल र विराट टिचिङको लुट धन्दा सार्वजनिक भएको हो ।

विराट टिचिङमा उपचारका क्रममा निधन भएका सुनसरीको इनरुवा २ का रामजी महतोको परिवारसँग झुटो विवरण देखाएर ६ लाख अशुलेको र सरकारसँग पनि उपचार खर्च लिन खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ ।

महतो परिवारको उजुरीमाथि छानविन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमित महतोको उपचारमा अस्वभाविक रकम अशुलेको देखिएको भन्दै रकम फिर्ता गर्न गिरीको लगानीमा सञ्चालित विराट टिचिङलाई निर्देशन दिएको छ ।

त्यसैगरी इलामको चुलाचुली ३ की २३ वर्षीया अप्सरा गिरीले पनि आफूआफू जस्तै अन्य धेरैसँग विराटनगर अस्पताल र विराट टिचिङले लाखौं रकम असुलेर झुटो विवरण पेश गरी सरकारसँग पनि रकम असुल्न खोजेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लिखित रुपमा उजुरी दिएकी छन् । उनले उजुरीमा सरकारसँग निशुल्क उपचारको सम्झौता गरेको अस्पतालमा आफूबाट लाखौं असुलिएको भन्दै सो रकम फिर्ताको लागि माग गरेकी छन् ।

कोरोना सङ्क्रमणका कारण उपचारका लागि गत वैशाख २२ गते विराटनगर अस्पताल भर्ना भएकी उनको २६ गते सम्म सो अस्पतालको आईसियूमा उपचार भएको थियो । अस्पतालले उनलाई बैशाख २६ गते सोही अस्पतालकै लगानीकर्ताको स्वामित्वमा रहेको विराट टिचिङ अस्पताल रेफर गरेको थियो ।

विराट टिचिङमा पनि उजुरीकर्ता गिरीको ११ दिन उपचार भएको थियो । विराटनगर अस्पताल र विराट टिचिङले उनको उपचारको क्रममा उनीबाट औषधी र अन्य खर्च गरी ६ लाख रुपैयाँ असुलेको थियो ।

तर सो अस्पतालले सरकारलाई रकम दावी गर्दै बुझाएको सुचीमा भने गिरी बैशाख २१ गते नै भर्ना भएको र ३० गते सम्म एचडियूमा राखेर उपचार गरिएको अनि उनी हालसम्म पनि उपचारमा नै रहेको झुटो विवरण पेश गरिएको छ ।

आफ्नो लगानी रहेका अस्पतालमा भइरहेको खुलेआम लुट र झुटो विवरण पेश गरी सरकार ठग्न उद्यत् लगानीकर्ताको समुहका सदस्य डा. गिरी भने धरानमा जारी आन्दोलन रोक्न बेथिति र भ्रष्टाचार आफ्नो कार्यकालमा नभएको र हुन नदिने दावी गरिरहेका छन् । उनले पटक–पटक जारी गरेका विज्ञप्ति र संचारमाध्यमसँगको कुराकानीमा आफू बेथिति र भ्रष्टाचारको विरोधी भएको अनि आफ्नो कार्यकालमा त्यस्तो हुन नदिने दावी गर्दै आएका छन् ।

एमाले नेता एवं पुर्व शिक्षामन्त्री भानुभक्त ढकालको जोडबलमा वीपीको उपकुलपति बन्न सफल डा. गिरी  लामो समय देखि वीपी प्रतिष्ठानको विषयलाई लिएर विवाद र आलोचनामा तानिएका छन् ।

उनै गिरीको जोडबल र सिफारीसमा रजिष्टार बन्न सफल भएका फिस्टुला कार्यक्रममा विवादीत बनेका चिकीत्सक डा. मोहन चन्द्र रेग्मीबिचको विवादले सुरु भएको आन्दोलन प्रतिष्ठान भित्र वर्षौ देखि जकडिएको बेथिति र भ्रष्टाचार अन्त्यको दिशामा अघि वढेपछि त्यसलाई रोक्न यतिवेला पदाधिकारी बेथिति र भ्रष्टाचार अन्त्यको झुटो बाचा गरीरहेका छन् ।

एक अर्कालाई सिध्याउने मनशाय सहित प्रतिष्ठान भित्र आफ्ना समूह उपयोग गरी सल्काईएको आन्दोलन गिरी र रेग्मीसहित सबैलाई पदमुक्त गराउने ठाउँमा पुगेको छ । नागरीक समाजको एक दशकको माग र उत्कर्षमा पुगेको भ्रष्टाचार अनि बेथिति अन्त्य गराउने विन्दुमा आन्दोलन पुगेपछि अत्तालिएका गिरी र रेग्मी सहितका पदाधिकारी यतिवेला  बेथिति र भ्रष्टाचार हुन नदिने दावी गरिरहेका छन् ।

तर उनीहरुको दावी उनीहरुको विगतका क्रियाकलापकै कारण पत्याउन नसकिने अवस्था रहेको आन्दोलनकारीको भनाई छ । एक चिकीत्सक भन्छन् – विगतमा र अहिले पनि प्रतिष्ठानलाई दुहुनो गाई बनाएर काम गर्दै आएका व्यापारीक समूहलाई चेपेर पदाधिकारी काम गरीरहेका नै छन् । उनीहरुको बिहान देखि बेलुका सम्म उठबस तिनै व्यापारीक समुहका मान्छे सँग नै भइरहेको हुन्छ । अनि कसरी यि पदाधिकारीले बेथिति र भ्रष्टाचारको समुल रुपमा अन्त्य गर्छन ।

पदाधिकारी बन्नका लागि डा. गिरी र डा. रेग्मीले सबथोक गरेको सुनाउँदै उनी भन्छन् – उपकुलपति हुन गिरीले भानुभक्त ढकाललाई चुनाव जिताउन सबै गतिविधी अनि आर्थिक सहयोग गरेर यो ठाउँमा आएका छन् । अर्का रेग्मीले पनि बल्ल  यो पटक एमालेको ओली समूहको एउटा पंक्तिलाई पैसा बुझाएर आएका छन् । पदाधिकारी बन्न जो सत्तामा हुन्छ उसलाई रिझाउन पार्टी समेत परिवर्तन गरीरहनेले वीपी सुधार गर्छन भनेर पत्याउनु मुर्खता हुने छ ।

गगन स्वास्थ्य मन्त्री रहेको समय देखि पदाधिकारी बन्ने लालसा बोकेर पटक–पटक दल समेत परिवर्तन गरेका अनि राजनितीक धर्म समेत नभएकाबाट वीपी प्रतिष्ठान सुधारको कल्पना गर्नु मुर्खता हुने बताउँदै उनले भने – ईतिहाँसमा पहिलो पटक प्रतिष्ठानमा हुँदै आएको आन्दोलन सहि विन्दुमा पुगेको छ । सबै पदाधिकारी च्युत गरी स्वतन्त्र आयोगबाट नियुक्ती हुने परिपाटी यो पटक पनि बनाउन नसक्ने हो भने अब वीपी बचाउन कसैले पनि सक्ने छैन ।

उनले बर्तमान पदाधिकारी कोहि पनि इमान्दार नरहेको र भ्रष्टाचारका विषयमा कुरा नमिल्दा नै उनीहरु लडेको दावी गर्दै विना प्रतिष्पर्धा शक्ति केन्द्रलाई आर्थिक प्रलोभनमा पारेर नियुक्त भएका सवैलाई पदमुक्त गरेर विगत देखिका सवै विषयमा छानविन गरी प्रतिष्ठान डुबाउनेलाई कारवाही गराउने अवस्था बनाउन जारी आन्दोलनमा आम धरानबासीलाई पनि उत्रिन अपिल गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेका बेला माओवादी कोटामा डा. गुरु खनाल रेक्टर र गगन थापा स्वास्थ्य मन्त्री भएका बेला कांग्रेस को कोटामा डा. गौरी शंकर साह अस्पताल निर्देशक भएका हुन् । 

रजिष्टार बन्न सफल डा. मोहनचन्द्र रेग्मि पनि लामो समयदेखि पदाधिकारीको दौडमा पार्टी परिवर्तन गरेर कोशिस गर्ने चिकीत्सकका रुपमा चिनिएका छन् । गगन थापा रहेको समयमा समेत नेपाली कांग्रेस बनेर उनले कोशिस गरेको उनका निकटस्थहरु बताउँछन् । तिनै रेग्मी यतिबेला एमालेको ओली समूहका नेता सुभाष नेम्वाङ परिवारलाई आर्थिक सहयोग गरेर रजिष्टार बन्न सफल भएको आरोप लाग्दै आएको छ । 

रजिष्टार बन्नका लागि उनले लामो समय देखि आफु निकट रहेर प्रतिष्ठान भित्र काम गर्ने व्यापारीसँग आर्थिक सहयोग जुटाएर त्यो ठाउँमा पुगेको समेत उनीमाथि आरोप लागिरहेको छ । नियुक्तिको समयमा व्यवासायीसँग लिएको पैसाको विषय सार्वजनिक भएपछि उनी र उनलाई एक दशक देखि सहयोग गर्ने व्यापारीबिच यतिबेला वारपारको लडाई चलिरहेको प्रतिष्ठान प्रशासनका एक कर्मचारीले जानकारी गराएका छन् । 

ति कर्मचारी भन्छन् – आफुलाई गोप्य रुपमा गरिएको आर्थिक सहयोगको विषय सार्वजनिक गरिदिएपछि उनले उपकुलपतिलाई ति व्यापारीको समुहलाई कुनै पनि काम गर्न नदिन दवाव दिए , त्यो कुराको सुनुवाई नभएपछि उपकुलपति कै सिफारीसमा रजिष्टार बन्न सफल भएका उनले उपकुलपति विरुद्ध आन्दोलनको वातावरण वनाई दिए ।

पर्दा पछाडीको शक्ति केन्द्र बिचको टकराव र पदाधिकारी बिचको झगडाले आरम्भ भएको आन्दोलनका क्रममा उपकुलपति गिरीले भ्रष्टाचारको विषयमा डा. विष्णु पोख्रेललाई स्पष्टिकरण सोध्ने र मादक पदार्थ खाएर बार्तामा बस्ने आत्मघाति काम गरेपछि जारी आन्दोलन बल्ल सहि विन्दुमा पुगेको उनको भनाई छ । उनी भन्छन् – रजिष्टार निकट समूहको उधेष्य उपकुलपतिलाई ठेगान लगाउने थियो भने उपकुलपति निकटको उधेष्य रजिष्टारलाई तह लगाउने यहि टकरावले सुरु भएको आन्दोलन प्रतिष्ठान सुधारको दिशामा बल्ल आईपुगेको छ । 

विगतमा जसरी आफ्नो स्वार्थ पुरा गराएर आन्दोलन तुहाउने सम्भावना अझै रहेको वताउँदै उनले यो पटकको आन्दोलन बेथिति र भ्रष्टाचार अन्त्यका लागि ठोस निर्णय गराउने ठाउँमा पुर्याउन नागरीक समाजको बलियो साथको खाँचो रहेको बताएका छन् । उनले पदाधिकारी सवैलाई पदमुक्त गराएर स्वतन्त्र र विज्ञ नियुक्तिको बाटो बनाउन धराने जनता र नागरिक समाजलाई जारी आन्दोलनलाई परिणाममुखी बनाउन थप दवावका लागि आग्रह समेत गरेका छन् । 

विगतमा वीपी प्रतिष्ठानको भ्रष्टाचार र बेथितिका लागि भएका आन्दोलनमा सहभागिले धोका दिएको भन्दै उनले यसपटक आन्दोलनकारीलाई बेथिति र भ्रष्टाचारको समुल अन्त्यको दिशामा जानका लागि निरन्तर खबरदारी गर्न पनि उनले आम धरानवासीलाई आग्रह गरेका छन् ।  

राजनितीक शक्ति केन्द्र र व्यापारीको आर्थिक सहयोगमा पदाधिकारी बन्न सफल भएकालाई पद च्युत नगरी सम्भव छैन भन्ने बुझेका प्रतिष्ठानका ईमान्दार कर्मचारी र स्वास्थ्यकर्मीले आन्दोलन थप चर्काउने घोषणा गरेको समयमा नै उपकुलपति गिरी समुहको लगानी रहेको अस्पतालको लुट सार्वजनिक भएको हो ।