धरान / बेथिति र भ्रष्टाचारको विषयलाई मुख्य माग बनाएर धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन निर्णायक मोडमा पुगेको छ । जारी आन्दोलनका क्रममा बुधवार आन्दोलनरत चिकित्सक तथा कर्मचारीले प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।  

फरक उद्देश्य र आफ्ना स्वार्थलाई प्रधान बनाएर विगत एक दशक यता हुँदै आएका आन्दोलन निरर्थक बनेका बेला यो पटकको आन्दोलन भने उपकुलपति डा. ज्ञानेन्द्र गिरीको आत्मघाती कदमकै कारण निर्णायक मोडमा पुगेको हो । नागरिक समाजको एक दशक लामो बेथिति र भ्रष्टाचार अन्त्यको माग बल्ल सम्बोधन हुने दिशामा पुगेको छ ।

पदाधिकारीबीचको विवादले एक अर्कालाई सिध्याउने उद्देश्यसहित सुरु भएको आन्दोलन र कारवाहीको खेलमा नागरिक समाज समेत मिसिएपछि आन्दोलनले फरक बाटो तय गरेको थियो । नागरिक समाजले समेत आन्दोलन चर्काएका बेला उपकुलपति गिरीले सामाजिक सञ्जालमा लेखिएको भनाइलाई लिएर चिकित्सक डा. विष्णु पोख्रेललाई स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरण फिर्ता लिन माग गर्दै सुरु भएको आन्दोलन मंगलबार आइपुग्दा आन्दोलनकारीको स्वार्थ पन्साएर बेथिति र भ्रष्टाचारको अन्त्यको दिशामा अघि बढेको छ । जारी आन्दोलनलाई निर्णायक बनाउन फेरि पनि उपकुलपति गिरीकै अर्को आत्मघाति कदमले सहयोग पुर्याएको छ ।

आन्दोलनरत पक्षसँग मङ्गलबारका लागि तय भएको वार्तामा उपकुलपति डा. गिरी मादक पदार्थ सेवन गरेर उपस्थित भएपछि जारी आन्दोलन पदाधिकारीको बर्खास्ती गरेर बीपी प्रतिष्ठानमा आमूल परिवर्तन गर्ने दिशामा अघि बढेको छ ।

प्रतिष्ठान भित्र उपकुलपति गिरी र रजिष्टार डा. मोहनचन्द्र रेग्मी समर्थक समुहको द्धन्द्धले सुरु भएको आन्दोलनले उनीहरूसँगै राजनीतिक शक्ति केन्द्रको आर्शिवादमा नियुक्त भएका र प्रतिष्ठान भित्र हालीमुहाली गर्ने सबैलाई निशाना बनाएको छ । मङ्गलबारको वार्ताका क्रममा गिरीको आत्मघाति कदम मुख्य बनेपछि आन्दोलनको भिडले प्रतिष्ठानका पदाधिकारी बर्खास्तीको मागलाई प्रधान बनाइदिएको हो  ।

बुधबार आन्दोलनकारीले प्रतिष्ठानमा राजनीतिक शक्ति केन्द्रको सिफारिस र आर्थिक लेनदेनमा नियुक्त हुन सफल भएका सबै पदाधिकारीको कार्यकक्षमा तालाबन्दीसँगै नयाँ माग अघि सारेका छन् । उनीहरूले पदाधिकारीको बर्खास्तीसँगै सरकारले विज्ञ समुह बनाएर योग्यता र क्षमताका हिसाबमा नियुक्त नगरुन्जेल जारी आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।

बीपी प्रतिष्ठान भित्रको बेथिति र भ्रष्टाचारलाई विषय बनाएर एक दशक यता दर्जनौं पटक आन्दोलन भएका छन् । विगतमा भएका आन्दोलन आफ्ना निजी स्वार्थ पुरा हुने बित्तिकै टुङ्गिने गरेका थिए । तर यस पटक सुरु भएको आन्दोलन भने राजनीतिक शक्ति केन्द्रको आर्शिवाद र आर्थिक लेनदेनमा प्रतिष्ठानको पदाधिकारी बन्न सफल व्यक्तिकै आत्मघाति निर्णय र कदमका कारण निर्णायक दिशामा पुगेको छ ।

वार्ता अघि सँगै छलफलमा बसेका प्रतिष्ठानका अन्य पदाधिकारीलाई उपकुलपति गिरीले मादक पदार्थ सेवन गरेको थाहा हुँदा हुँदै पनि बार्तामा बस्न हौसाएका गिरीका विरोधी पदाधिकारीलाई समेत आन्दोलनले निशाना बनाएपछि दश वर्ष यता असफल बन्दै आएको बीपी प्रतिष्ठान बचाउन अभियान सफल हुने संकेत देखिएको छ ।

गिरीलाई असफल बनाएर आफु सबै शक्ति हत्याउने ध्याउन्नमा रहेका पदाधिकारी सबैलाई बर्खास्तीको माग सहित सरकारसँग मात्रै बार्तामा बस्ने आन्दोलनकारीले घोषणा गरेपछि आन्दोलनका लागि अप्रत्यक्ष भुमिका खेल्दै आएका पदाधिकारी समेत आन्दोलन रोक्न सकृय बनेका छन् । आफैँले सल्काएको आगोले आफैंलाई जलाउने भयो भन्दै उनीहरूले आफुलाई प्रशय दिने राजनीतिक दलका नेतासँग आफ्नो कुर्सी बचाउनका लागि दौडधुप थालेका हुन् ।