कर्णाल। कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा आज छलफल भएको छ । 

सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारसहित सरोकारवालासँग छलफल भएको हो । गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरे बमोजिम बैठक बसेको थियो । सो बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पतालका लागि विशेषज्ञ चिकित्सक पाउन मुस्किल भएको बताउनुभयो ।

सरकारले चाहेर मात्रै पनि सुविधालाई बढवा दिन नसकिएको भन्दै मन्त्री भण्डारीले कर्णालीको भूगोल र वास्तविकतालाई आकलन गर्दा विषेशज्ञ चिकित्सक कर्णाली आउन नमान्ने अवस्था विद्यमान रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले गाउँगाउँमै चिकित्सक पठाउने गरी छात्रवृत्ति दिने र करारकालाई स्थानीय तहसम्म परिचालन गरेपनि मेडिकल अधिकृतभन्दा माथिल्लो तहको चिकित्सक पाउन जटिल छ ।” 

उहाँका अनुसार स्वास्थ्य क्षेत्र अहिले प्राथमिकतामा पर्न सकेको छैन । कोभिड पछिका दिनमा बजेट स्रोत घटिरहेको छ । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले जनशक्ति अभाव र व्यवस्थापनमै कमजोरी भएको स्वीकार्नुभयो । प्रदेश सरकारद्वारा स्वीकृत १५० शय्या भएपनि हाल ३०० शैय्या बराबरको सुविधा उपलब्ध गराउनु परेको र विशेषज्ञ सेवा करिब ९१ जनाले प्रदान गरेतापनि जनशक्ति व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उहाँको भनाइ थियो । 

प्रदेश अस्पतालका निर्देशक डा गणेश थापाले विशेषज्ञ चिकित्सकको अभावले ३७ जना आवश्यक जनशक्तिमा हाल १९ जनाबाट मात्र सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो । उहाँले चार÷पाँच हजार केभिए विद्युत् आवश्यक हुँदा पनि एक हजार केभिए क्षमताको लोड प्राप्त भएको आवश्यकताअनुसार विद्युत् आपूर्ति हुन नसकेको गुनासो गर्नुभयो । 

समितिका सभापति पूर्णबहादुर खत्रीले बैठकमा प्रदेश अस्पतालमा कार्यरत जनशक्तिको पदपूर्तिको अवस्था, कार्यदक्षता, सेवा प्रवाहमा हुने ढिलासुस्तीका कारण, सुधारका विषयका सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो ।