सिमकोट। कर्णाली प्रदेश सरकारले दुर्गम हिमाली जिल्ला हुम्लाका तीन स्थानीय तहमा चिकित्सकको व्यवस्था गरेको छ । यहाँका स्थानीय तहबाटै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिकित्सक खटाइएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीका अनुसार खार्पुनाथ, सर्केगाड र अदानचुली गाउँपालिकामा चिकित्सा जनशक्तिको व्यवस्था गरेको बताउनुभयो ।
खार्पुनाथ गाउँपालिकामा डा डिजेल यादव, सर्केगाडमा डा ईश्वरी पौडेल र अदानचुलीमा डा गणेश जैसीले सेवा प्रदान गर्नुहुने छ ।
यहाँका स्थानीय तहमा चिकित्सकको अभाव भइरहेकाले प्रदेश सरकारले स्वास्थ्य सेवा सहज बनाउने लक्ष्यअनुसार यो पहल अघि बढाएको बताइएको छ । यसबाट गाउँपालिका तहमा आधारभूत स्वास्थ्य सेवा सुदृढ हुने अपेक्षा गरिएको छ । गाउँमै चिकित्सक पाउँदा यहाँका नागरिक पनि उत्साहित भएका छन् । सामान्य रोगका लागि लाखौँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास यहाँका नागरिकको छ ।






































