बलिउड अभिनेत्री सेलिना जेटली यतिवेला विभिन्न चुनौती सामना गरिरहेकी छन् । खासगरी उनी पारिवारिक समस्याले घेरिएकी छन् ।

उनका दाजु अवकाशप्राप्त मेजर विक्रान्त कुमार जेटली एक वर्षभन्दा लामो समयदेखि यूएईको जेलमा कैद छन् । सेलिना आफ्नो दाजुलाई जेलबाट रिहा गराउन निरन्तर प्रयासरत छिन् । अर्कोतिर सेलिनाको दाम्पत्य जीवन संकटमा परेको छ ।

उनले आफ्नो पति पीटर हागविरुद्ध मंगलबार घरेलु हिंसासम्बन्धी उजुरी दायर गरेको समाचार प्रकाशमा आएको छ । यही सन्दर्भमा सेलिनाले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै आफ्नो धारणा राखेकी छन् ।

आफ्नो जीवनकै सबैभन्दा शक्तिशाली र अशान्त आँधीका बिचमा आफूले आमाबुबा र कुनै सपोर्ट सिस्टमविना एक्लै लड्नुपर्छ भन्ने कहिल्यै नसोचेको उनले बताएकी छन् ।

‘मेरो छत अडिएको सबै पिलर्स एक दिन रहने छैनन् भन्ने मैले कहिल्यै सोचेकी थिइनँ,’ उनले लेखेकी छन्, ‘मेरा आमाबुबा, मेरो दाजु, मेरा बच्चाहरू र ऊ, जसले मसँग साथ रहने, मलाई प्रेम गर्ने, मेरो हेरचाह गर्ने र मसँगै प्रत्येक दुःख झेल्ने बाचा गरेको थियो ।’

उनले अगाडि लेखेकी छन्– ‘जिन्दगीले सबै कुरा खोस्यो, जोमाथि भरोसा थियो– उनीहरू गइसके, जुन बाचामा विश्वास थियो– ती चुपचाप टुटिसके । तैपनि तुफानले मलाई डुबाउन सकेन, उसले मलाई बचायो, उसले मलाई डुबाउनै लागेको पानीबाट निकालेर तातो बालुवामा फालिदियो । उसले मलाई आफूभित्रको त्यो महिलासँग भेट्न बाध्य बनायो, जो मर्न अस्विकार गर्दछे ।’

आफू एक सैनिककी छोरी भएको जिकिर गर्दै उनले साहस, अनुशासन, धैर्य, लचकता, जोस र विश्वासका साथ हुर्किएको उल्लेख गरेकी छन् ।

उनले आफ्नो सैनिक दाजुका लागि लड्नु, आफ्ना बच्चाको प्यारका लागि लड्नु र आफ्नो गरिमाका लागि लड्नु नै मुख्य प्राथमिकता रहेको पनि प्रस्ट पारेकी छन् ।

सेलिनाले आफूमाथि भएका सबै अत्याचारका विरुद्ध घरेलु हिंसाको उजुरी दर्ता गराएको पनि जनाएकी छन् ।