बारा— बारा र पर्सामा सञ्चालन गरिएको हैजाविरुद्धको खोप अभियानमा करिब ९० प्रतिशतलाई लगाएको सरकारी तथ्यांकले देखाएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका प्रमुख डा. अभियान गौतमका अनुसार दुई चरणमा चलेको अभियानमा बारामा ८८.२५ प्रतिशत र पर्सामा ९० प्रतिशत व्यक्तिले खोप पाए।

बारामा तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख ८९ हजार ३५४ जनालाई महामारी नियन्त्रणका उद्देश्यले खोप लगाइको उनको भनाय छ । असोज २६ देखि कात्तिक २ र कात्तिक १३ देखि २७ गतेसम्म एक वर्षमाथिका सबैलाई लक्षित गरी अभियान चलाइएको थियो।

डा. गौतमका अनुसार यसपटक प्राप्त परिणाम हालसम्मकै उच्च हो। “पहिले हैजाविरुद्धको खोप अभियानले ७०–८० प्रतिशत मात्रै समेट्थ्यो,” उनले भने, “घर–घर पुगेका टोलीका कारण यसपटक कभरेज ९० प्रतिशत पुग्यो।”

उनका अनुसार छुटेकाहरूलाई नियमित खोप कार्यक्रममार्फत खोप दिइसकिएको छ। गत भदौमा बारा र पर्साका छ र १४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएपछि विभागले ती क्षेत्रमा विशेष अभियान सञ्चालन गरेको थियो।