काठमाडौँ / नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको सङ्क्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आह्वान अनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था (गैसस)हरुले आवश्यक सहयोग गर्ने तत्परता देखाएका छन् । 

जर्मन­नेपाल मैत्री सङ्घको संयोजनमा एनजिओ फोरम नेपालले आज आयोजना गरेको वेबिनारमा सहभागी झण्डै ६० वटा गैससले मानवीय सहयोगअन्र्तगत नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु उपलब्ध गराउने निर्णय गरेका हुन् ।

OM Sai Pathibhara Hospital

कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खडकाले कोरोनाको बढ्दो सङ्क्रमणका कारण अस्पताललगायत स्वास्थ्य संस्थाहरुमा आवश्यक पिसिआर परीक्षण सामग्री, एन्टिजेन सामग्री, भ्यान्टिलेटर, आइसियू शय्या, पोर्टेबल डिजिटल एक्स रे, थर्मल गन, अक्सिनेटर, पिपिईलगायतका उपकरण र सामग्रीहरुको अभाव हुँदा उपचारमा समस्या आएको बताए । 

उनले यस्तो विपद्को अवस्थामा आवश्यक सहयोग गरिदिन नेपाल सरकारले सबै मित्र राष्ट्र तथा दातृसंस्थाहरुसँग आग्रह गरेको उल्लेख गर्दै जर्मनीमा कार्यरत संस्थाहरुबाट पनि विगतमा जस्तै यसपटक पनि सहयोग रहने विश्वास व्यक्त गरे । राजदूत खडकाले जर्मनीबाट उपलब्ध हुने सहयोगलाई नेपाल सरकारले विमानस्थलमा आवश्यक समन्वय गर्ने र सम्बन्धित निकायलाई उपलब्ध गराइनेछ भने । 

सो अवसरमा नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड सेफरले नेपालमा हाल कोरोनाको सङ्क्रमण व्यापकरुपमा फैलिएकाले अक्सिजन लगायत अन्य स्वास्थ्य सामग्रीको अभावका कारण धेरैले ज्यान गुमाउनु परेको अवस्थाका बारेमा अवगत गराएका थिए । उनले जर्मनी नेपालको एक असल मित्र राष्ट्र भएकाले यस विषम समयमा पनि विगतमा जस्तै गैरसरकारी संस्थाहरुले एकमुष्ट सहयोग उपलब्ध गराउन आवश्यक रहेको बताए । राजदूत सेफरले नेपालको अर्थतन्त्रमा कुनै असर नहुने गरी हप्तामा एक/दुईवटा उडानको प्रबन्ध मलाउन आग्रह गरे ।  

मैत्री सङ्घका अध्यक्ष तथा जर्मनीका लागि नेपाली महावाणिज्यदूत रामप्रताप थापाले नेपालमा उत्पन्न स्वास्थ्य समस्याका कारण सिर्जित विकराल अवस्थामा नेपालमा सहयोग गर्दै आएका जर्मनीका गैससहरुबीच समन्वय गरी आवश्यक सहयोग जुटाउन वेबिनार आयोजना गरिएको जानकारी दिए । 

गैरआवासीय नेपाली सङ्घ(एनआरएन) फाउण्डेशनका अध्यक्ष जीवा लामिछानेले एनआरएनले विश्वभरि रहेका आफ्ना च्याप्टरहरु मार्फत सहयोगको आह्वान गरिसकिएको र चीन, ओमानलगायत केही देशबाट स्वास्थ्य उपकरणहरु ल्याइएको उल्लेख गरे । कार्यक्रममा सहभागी विभिन्न गैससका प्रतिनिधिहरुले कोरोनाका बिरामीको उपचारमा आवश्यक सामग्रीहरु एकमुष्ठरुपमा उपलब्ध गराउन आफूहरु तयार रहेको र ती सामग्री पठाउन हवाइ उडानको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । कतिपयले यसअघि नै व्यक्तिगत र संस्थागत रुपमा पनि नेपालका केही स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिसकेको जानकारी दिएका थिए ।