काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार बस्दैछ । नयाँ सरकार गठनबारे अलमलमा देखिएको कांग्रेसको आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

पार्टी उपसभापति विमलेन्द्र निधिका अनुुसार आजको बैठकमा अरु दलबाट आएकाहरुको समायोजन र महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानविनका लागि समय थप गर्न र महाधिवेशनको कार्यतालिकालाई हेरफेरसम्बन्धी प्रस्ताव पेस गर्नेबारे छलफल हुनेछ ।

OM Sai Pathibhara Hospital

माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको छ भने जनता समाजवादी पार्टी (जसपा) विभाजित देखिन्छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कांग्रेस, माओवादी र जसपा गठबन्धन बनाउने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग छलफल गर्दै आएको छ ।

यस्तै, जसपामा देखिएको विवादलाई देखाएर कांग्रेस सभापति देउवाले सरकार गठनमा अग्रसरता दिएका छैनन् । पार्टीका नेताहरुसँग देउवाले अहिले नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा जसपाले भोट नहाल्ने तर्क गर्दै आएका छन् ।

आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले यसमा नयाँ प्रस्ताव राख्न सक्ने स्रोतको भनाइ छ । पौडेल समूहका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने अडान राख्दै आएको छ । यसबारे केन्द्रीय कार्यसमिति बैठक अगाडि पौडेल समूहका नेताहरुबीच छलफल पनि हुँदैछ ।