बेइजिङ । नेपाल–चीन सीमा नजिक तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोपछि चीनले उद्धार तथा राहतलाई तीव्र बनाउने तयारी गरेको छ।

विपद्को अवस्था, बेपत्ताको खोजी र थप क्षति रोक्ने विषयमा चिनियाँ राष्ट्रपति सी चिनफिङले उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन्। बैठकमा प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन, जोखिममा रहेका नागरिकको स्थानान्तरण र घाइतेको उपचारलाई प्राथमिकता दिने विषयमा छलफल भएको छ।

बैठकअघि सीसहित चिनियाँ नेतृत्वले केरुङ बन्दरगाह क्षेत्रमा भएको विपद्मा ज्यान गुमाएकाप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।बाढी र पहिरोका कारण केरुङ क्षेत्रमा सडक, सञ्चार र विद्युत् संरचनामा क्षति पुगेको छ। पहिरोले नदी थुनिएपछि बनेको तालमा पानीको मात्रा बढ्दै गएपछि थप बाढीको जोखिमसमेत देखिएको छ।

ताल फुट्न सक्ने जोखिमका कारण उद्धार टोलीलाई सुरक्षित दूरीमा राखेर अवस्थाको निगरानी भइरहेको छ। चीनले सम्भावित जोखिमको मूल्यांकन गर्दै उद्धार अभियानलाई व्यवस्थित रूपमा अघि बढाउने तयारी गरेको छ।चिनियाँ प्रधानमन्त्री लि छ्याङले पनि प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै उद्धार तथा राहतका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन्।

नेपाल र चीन दुवैतर्फ विपद्को असर देखिएपछि सीमापार समन्वयमार्फत उद्धार र राहतलाई प्रभावकारी बनाउने आवश्यकता बढेको छ।केरुङमा उच्चस्तरीय बैठकमार्फत चीनले अहिलेको मुख्य प्राथमिकता उद्धार, बेपत्ताको खोजी र थप क्षति रोक्नु रहेको स्पष्ट गरेको छ।