काठमाडौं । अमेरिकाले सिरियालाई ४७ वर्षपछि ‘आतंकवाद प्रायोजक राष्ट्र’को सूचीबाट हटाएको छ । सन् १९७९ मा यो सूचीमा राखिएको सिरियालाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोले औपचारिक रूपमा सूचीबाट हटाएका हुन्। अमेरिकाले यो निर्णयले सिरियाको अर्थतन्त्र सुधार गर्न र विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने जनाएको छ । युद्धका कारण ठूलो क्षति बेहोरेको सिरियामा अब पुनर्निर्माणका लागि विदेशी लगानी बढ्ने अमेरिकी अधिकारीहरूको अपेक्षा छ। सिरियालाई अन्तर्राष्ट्रिय अर्थतन्त्रमा जोड्न पनि यो निर्णय महत्वपूर्ण हुने बताइएको छ ।
अमेरिकाले राष्ट्रपति अहमद अल–शराको नेतृत्वमा सिरियाले आतंकवादी समूहविरुद्ध कारबाही अघि बढाएको भन्दै सूचीबाट हटाउने निर्णय गरेको हो। अमेरिकाले यसअघि अल–शरासँग सम्बन्धित हयात तहरिर अल–शाम (एचटीएस) माथिको आतंकवादी संगठनको पदनाम पनि हटाइसकेको छ ।
सिरियाले अमेरिकी निर्णयको स्वागत गरेको छ। सिरियाली विदेशमन्त्री असद अल–शिबानीले ४७ वर्षपछि सूचीबाट हटाइनु देशमा आएको परिवर्तनको परिणाम भएको बताएका छन्। सिरिया सूचीबाट हटेपछि अमेरिकाको सूचीमा अब इरान, उत्तर कोरिया र क्युबा मात्रै बाँकी छन्। तर सूचीबाट हट्दैमा सिरियामाथिका सबै अमेरिकी प्रतिबन्ध भने हटेका छैनन्। अन्य प्रतिबन्ध छुट्टाछुट्टै प्रक्रियाबाट हट्नेछन्। अमेरिकाको यो निर्णयसँगै सिरियाका लागि आर्थिक पुनर्निर्माण र विदेशी लगानीको नयाँ बाटो खुल्ने आम नागरिकले अपेक्षा गरेका छन् ।






































