काठमाडौं । चन्द्रमाको दक्षिणी ध्रुवमा लुकेको बरफको खोजी गर्न चीनले आफ्नो महत्वाकांक्षी रोबोटिक मिसन ‘चाङ्गी–७’ अघि बढाएको छ। यो अभियान चन्द्रमामा पानीको सम्भावित स्रोत पत्ता लगाउने चीनको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
चाङ्गी–७ ले दक्षिणी ध्रुवस्थित करिब २१ किलोमिटर चौडा सेकलटन क्रेटर आसपासको क्षेत्रमा अनुसन्धान गर्नेछ। मिसनमा अर्बिटर, ल्यान्डर, रोभर र हपर गरी चार प्रमुख यान रहनेछन्।
अर्बिटरले चन्द्रमाको सतहको नक्सांकन र सञ्चारको काम गर्नेछ भने ल्यान्डरले वैज्ञानिक उपकरणसहित अवतरण गर्नेछ। रोभरले माटो तथा चट्टानको अध्ययन गर्नेछ। सबैभन्दा विशेष छ खुट्टे हपर भने सामान्य रोभर पुग्न नसक्ने गहिरा तथा स्थायी छायायुक्त खाडलमा पुगेर बरफको खोजी गर्नेछ।
बरफ भेटिए अन्तरिक्ष यात्रामा ठूलो उपलब्धि
चन्द्रमामा पानी भेटिए त्यसलाई हाइड्रोजन र अक्सिजनमा छुट्याउन सकिन्छ। हाइड्रोजनलाई रकेट इन्धन र अक्सिजनलाई मानव जीवनका लागि प्रयोग गर्न सकिने भएकाले चन्द्रमाको बरफ भविष्यमा चन्द्र आधार निर्माण तथा मंगल र गहिरो अन्तरिक्ष अभियानका लागि महत्वपूर्ण स्रोत बन्न सक्छ।
यसअघि भएका अध्ययन र भारतको चन्द्रयान–३ अभियानबाट प्राप्त तथ्यांकले पनि चन्द्रमाको दक्षिणी ध्रुवमा बरफको सम्भावना देखाएका छन्। चाङ्गी–७ ले त्यही सम्भावनालाई थप नजिकबाट परीक्षण गर्नेछ।
बरफको संरचना र उत्पत्तिबारे अनुसन्धानले चन्द्रमाको इतिहास, पानीको स्रोत र पृथ्वीमा पानीको आगमनबारे समेत नयाँ तथ्य खुलाउन सक्ने वैज्ञानिकहरूको अपेक्षा छ।
चन्द्रमाको दक्षिणी ध्रुवमा अत्यधिक चिसो, असमान भूगोल र स्थायी अँध्यारो भएका क्षेत्रका कारण यो अभियान भने निकै चुनौतीपूर्ण मानिएको छ। चन्द्रमामा चीनको नयाँ खोज-बरफ भेटिए भविष्यको अन्तरिक्ष यात्राका लागि चन्द्रमा नै इन्धन र स्रोतको केन्द्र बन्न सक्नेछ।





































