काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाले विदेशी नागरिकका १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरी २०२५ मा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता यति ठूलो संख्यामा भिसा रद्द गरिएको हो । सन् २०२५ मा मात्रै एक लाखभन्दा बढी भिसा रद्द गरिएको र २०२६ सुरु भएयता कम्तीमा थप ७५ हजार भिसा रद्द भएको मन्त्रालयले जनाएको छ ।

भिसाका सर्त उल्लंघन, आपराधिक गतिविधि, ठगी, अध्यागमन प्रणालीको दुरुपयोग तथा राष्ट्रिय सुरक्षामाथिको जोखिमलाई भिसा रद्द गर्नुका प्रमुख आधार बनाइएको छ ।अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रहरी वा अन्य कानुन कार्यान्वयन निकायसँग सम्पर्कमा आएपछि प्राप्त विवरणका आधारमा धेरै भिसा रद्द भएका छन् । कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाउने, चोरी र लागुऔषधसम्बन्धी कसुरमा संलग्न व्यक्तिमाथि समेत कारबाही भएको छ ।

त्यसैगरी यौन हिंसा, बाल दुव्र्यवहार, अपहरण, मानव बेचबिखन, जालसाजी तथा आर्थिक हिनामिनासँग जोडिएका व्यक्तिको भिसा पनि रद्द गरिएको मन्त्रालयको भनाइ छ ।अमेरिकाले भिसा प्रणालीको दुरुपयोग रोक्न बर्थ टुरिजम अर्थात् बच्चा जन्माएर अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका जाने प्रवृत्तिमाथि समेत निगरानी बढाएको छ । उत्तर अफ्रिकास्थित एक अमेरिकी दूतावासले मात्रै यस्तो आरोपमा एक सयभन्दा बढी अभिभावकको भिसा रद्द गरेको जनाएको छ ।

अमेरिकी स्वास्थ्य सेवा कार्यक्रमबाट ५० लाख डलरभन्दा बढी ठगी गरेको तथा नक्कली आम्दानी विवरण र किर्ते कागजात प्रयोग गरी भिसा लिएका व्यक्तिमाथि पनि कारबाही गरिएको छ ।विदेश मन्त्रालयले स्पष्ट शब्दमा ‘अमेरिकी भिसा अधिकार होइन, विशेषाधिकार हो’ भन्दै यसको दुरुपयोग गर्नेहरूमाथि कानुनी संयन्त्र प्रयोग गर्ने चेतावनी दिएको छ ।

ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीमाथिको कारबाहीसँगै वैध भिसामा अमेरिका जाने र बसिरहेका विदेशीको समेत निरन्तर छानबिन तीव्र बनाएको छ । भिसा आवेदकको सामाजिक सञ्जाल गतिविधि र अनलाइन उपस्थितिमाथिको निगरानीसमेत विस्तार गरिएको छ ।तर मानवअधिकारवादीहरूले भने बढ्दो निगरानीले अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत गोपनीयतामाथि असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यससँगै ट्रम्प प्रशासनको कडा भिसा नीतिले अमेरिकामा अध्ययन, रोजगारी तथा अन्य प्रयोजनका लागि जाने विदेशी नागरिकमाथि थप सावधानी र कडाइको अवस्था सिर्जना गरेको छ ।