एजेन्सी / स्पेनको उत्तर अफ्रिकी भूभाग स्युटामा आप्रवासीको संख्या बढ्दै गएपछि स्थानीय बासिन्दा तथा प्रशासनमाथि दबाब बढेको छ।

मोरक्कोसँग सीमा जोडिएको स्युटा युरोप प्रवेश गर्न खोज्ने अनियमित आप्रवासीका लागि महत्वपूर्ण मार्ग बनेपछि पछिल्लो समय यहाँको जनजीवन प्रभावित भएको हो। २० वर्ग किलोमिटरभन्दा कम क्षेत्रफल र करिब ८० हजार जनसंख्या रहेको स्युटा लामो समयदेखि आप्रवासनको संवेदनशील केन्द्रका रूपमा रहँदै आएको छ। मोरक्कोबाट सीमा बार पार गरेर वा समुद्री मार्ग हुँदै स्पेन प्रवेश गर्ने प्रयास गर्ने आप्रवासीहरू स्युटामा पुग्ने गरेका छन्। स्युटा भौगोलिक रूपमा अफ्रिकामा रहे पनि स्पेनको हिस्सा भएकाले यो युरोपेली संघको बाह्य सीमामा पर्छ।

त्यसैले स्युटाबाट स्पेनको मुख्य भूभाग तथा अन्य युरोपेली मुलुकतर्फ जान वैध कागजात आवश्यक हुन्छ। स्युटामा पुगेका धेरै आप्रवासीको मुख्य उद्देश्य रोजगारी र सुरक्षित भविष्य रहेको बताइएको छ। मोरक्कोमा रोजगारीको अवसर नपाएका आप्रवासीहरू स्पेनमा उपलब्ध जुनसुकै काम गरेर जीविकोपार्जन गर्न चाहेको बताउने गरेका छन्। तर आप्रवासीको बढ्दो आगमनले सानो सहरको क्षमता र स्रोतसाधनमाथि दबाब परेको स्थानीय बासिन्दाको भनाइ छ।

स्युटामा विभिन्न संस्कृति लामो समयदेखि सहअस्तित्वमा रहेको भए पनि ठूलो संख्यामा आप्रवासी आएपछि आवास, रोजगारी तथा अन्य आधारभूत सेवामा चुनौती थपिएको स्थानीयहरूको गुनासो छ। स्थानीय बासिन्दाहरूले आप्रवासीको कठिन अवस्था बुझ्न सकिने भए पनि सीमित क्षेत्रफल र जनसंख्या भएको सहरले ठूलो संख्यामा मानिसलाई तत्काल व्यवस्थापन गर्न नसक्ने बताएका छन्। उनीहरूले आप्रवासन व्यवस्थापनका लागि स्पष्ट र प्रभावकारी नीति आवश्यक रहेको बताएका छन्।

यसैबीच, सीमा क्षेत्रमा अवस्था केही सामान्य बन्दै गए पनि स्युटामा रहेका धेरै आप्रवासीको भविष्य अझै अनिश्चित छ। उनीहरू न युरोपको मुख्य भूभागतर्फ जान सकेका छन्, न त मोरक्को फर्किन इच्छुक देखिएका छन्। स्थानीयका अनुसार केही आप्रवासीले अन्ततः स्युटा छाड्न सक्ने सम्भावना छ। तर उनीहरूको गन्तव्य युरोप नै हुने निश्चित नभएको र स्युटामा देखेको वास्तविक अवस्थाका कारण निर्णय परिवर्तन हुन सक्ने बताइएको छ।