वीरगञ्ज / पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थको अनधिकृत कारोबार भइरहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ः१० बजे भारतको एकीकृत जाँच चौकी आईसीपी हुँदै नेपाल प्रवेश गरेको ना।७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा उनीहरूलाई सौदागर आयल सेन्टरबाट पक्राउ गरिएको हो। फलामको पाइपको हुक प्रयोग गरी ट्याङ्करको सिल उचालेर तेल निकालिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा आयल सेन्टरका सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, लेखा शाखाका कर्मचारी २३ वर्षीय असलम हवारी र क्यासियर २१ वर्षीय रफिक मियाँ छन्। यस्तै, ना.७ ख २८०४ नम्बरको ट्याङ्करका चालक ४६ वर्षीय केशर राम सुनार र सहचालक २० वर्षीय सन्देश राना मगर तथा ना।७ ख १५३९ नम्बरको ट्याङ्करका चालक ५० वर्षीय मन्द सिंह लामा र सहचालक २७ वर्षीय उमेश राना मगर पनि पक्राउ परेका छन्।

प्रहरीले घटनामा प्रयोग भएका दुवै ट्याङ्कर नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूमाथि पेट्रोलियम पदार्थको अनधिकृत निकासी तथा बिक्रीसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।