काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षमा परिणाम देखिने गरी कार्यसम्पादन गर्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जोड दिएको छ।

मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२ र ८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठकमा मन्त्रालयको समग्र कार्य प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै अब स्पष्ट उपलब्धि देखिने गरी काम गर्नुपर्नेमा जोड दिइएको हो। बैठकमा मन्त्रालय र मातहतका निकायले आर्थिक वर्षभरि गरेका कार्य, विकास आयोजनाको प्रगति, बजेट खर्च, सेवा प्रवाह, गुनासो व्यवस्थापन तथा सुशासनका विषयमा समीक्षा गरिएको थियो।

कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीबारे छलफल गर्दै आगामी वर्षका प्राथमिकता र सुधारका उपायसमेत तय गरिएको मन्त्रालयले जनाएको छ। बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षदेखि ‘सिकाइ चौतारी’ कार्यक्रमलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए। उनले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, नतिजामुखी कार्यसंस्कृतिको विकास तथा शिक्षा प्रणालीमा गुणात्मक सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गानाले उच्च शिक्षाको पुनःसंरचनाको खाका शीघ्र कार्यान्वयनमा लैजान, सबै कार्यक्रमलाई परिणाममुखी बनाउन तथा शिक्षकसँग सम्बन्धित समस्याको समाधानका लागि प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिइन्। मन्त्रालयका सचिव चूडामणि पौडेलले अब परम्परागत कार्यशैलीभन्दा फरक ढंगले काम गर्दै स्पष्ट परिणाम देखिने गरी कार्यसम्पादन गर्नुपर्ने बताए।

उनले उच्च शिक्षाको पुनःसंरचनालाई अभियानका रूपमा अघि बढाउने, कार्यसम्पादन सूचक (इन्डिकेटर) पुनःपरिभाषित गर्ने तथा माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई क्रमशः प्रदेशस्तरबाट सञ्चालन गर्ने तयारी गर्नुपर्ने धारणा राखे। बैठकले शिक्षा क्षेत्रको संरचनात्मक रूपान्तरण, प्रभावकारी सेवा प्रवाह र परिणाममुखी कार्यसम्पादनलाई आगामी वर्षको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ।