स्याङ्जा। किसानले उत्पादन गरेको तरकारी बेच्न बजार–बजार धाउनुपर्ने झन्झट अब वालिङमा हट्ने भएको छ। स्याङ्जाको वालिङ नगरपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएपछि किसानको बारीबाटै कृषि उपज संकलन गरी सीधै बजार पुर्याउने व्यवस्था सुरु भएको हो।
नगरपालिकाले वालिङ–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्थालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ। अब सहकारीले किसानको घरदैलोमै पुगेर तरकारी तथा अन्य कृषि उपज संकलन गर्ने र समयमै बजारसम्म पुर्याउनेछ।
यो सेवा ३२ लाख ९० हजार रुपैयाँको लागतमा सञ्चालनमा आएको हो। यसमध्ये १८ लाख ९० हजार रुपैयाँ वालिङ नगरपालिकाले र १४ लाख रुपैयाँ सामाजिक तथा दातृ संस्थाले व्यहोरेका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणलाई व्यवस्थित तथा आधुनिक बनाउन यो सेवा सुरु गरिएको हो। यसले किसानको ढुवानी खर्च घटाउने, उत्पादन ताजा अवस्थामा बजार पुर्याउने र कृषि व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने विश्वास लिइएको छ।
हाल त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारीमार्फत दैनिक करिब ५० क्विन्टल तरकारी संकलन हुँदै आएको छ। कृषि एम्बुलेन्स सञ्चालनपछि यो परिमाण अझ बढ्ने अपेक्षा गरिएको छ।सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले पर्याप्त ढुवानी साधन नहुँदा किसानका धेरै तरकारी खेतमै कुहिने वा बजारसम्म पुर्याउन कठिन हुने समस्या अब अन्त्य हुने बताए। अब पोखरा, बुटवललगायतका मुख्य बजारसम्म नियमित रूपमा कृषि उपज ढुवानी गर्न सकिने उनको भनाइ छ।
वालिङ नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुका साथै उत्पादनका आधारमा प्रतिकिलो पाँच रुपैयाँ अनुदान पनि उपलब्ध गराउँदै आएको छ। नगरपालिकाका अनुसार गत आर्थिक वर्षको ११ महिनामै किसानलाई ७ लाख ९१ हजार ३ सय ४२ रुपैयाँ नगद अनुदान वितरण गरिएको छ।






































