काठमाडौं । यस वर्ष देशभर धान रोपाइँ उत्साहजनक रूपमा अघि बढेको छ । कृषि विभागका अनुसार हालसम्म धानखेतीयोग्य कुल क्षेत्रफलको ९८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा करिब २ प्रतिशत बढी हो ।

विभागका अनुसार हालसम्म देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । समयमै मनसुन सक्रिय हुनु र कृषि प्रसारमा देखिएको सक्रियताका कारण यस वर्ष रोपाइँको गति बढेको विभागले जनाएको छ ।

प्रदेशगत रूपमा सुदूरपश्चिममा शतप्रतिशत रोपाइँ सकिएको छ । कर्णालीमा ९८.५०, मधेशमा ९८.१०, लुम्बिनीमा ९७.८७, बागमतीमा ९७.८२, कोशीमा ९७ र गण्डकीमा ९६.६८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

यस वर्ष मधेश प्रदेशमा रोपाइँको दरमा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष यही अवधिमा मधेशमा ८६.३५ प्रतिशत मात्र रोपाइँ भएकोमा यस वर्ष ९८.१० प्रतिशत पुगेको हो ।

समयमै रोपाइँ सम्पन्न हुँदै जाँदा धान उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । अब बाँकी क्षेत्रमा पनि छिट्टै रोपाइँ सकिने कृषि विभागको तथ्यांकले देखाएको छ ।