रामेछाप / वैदेशिक रोजगारी युवाको पहिलो रोजाइ बनिरहेका बेला रामेछाप नगरपालिका–८ बाबियाखर्कका ईश्वर घिमिरेले भने आफ्नै गाउँमा सम्भावना देखे।

सीमित लगानी, निरन्तर मेहनत र कृषि प्रतिको लगावका कारण उनले आज सफल दुग्ध तथा मिश्रित कृषि व्यवसायीका रूपमा आफूलाई स्थापित गरेका छन्। कृषि क्षेत्रमा सुरुवात भने उनले गाउँमै कुखुरापालनबाट गरेका थिए। अपेक्षाअनुसार सफलता हात नलागेपछि उनले पेशा परिवर्तन गर्ने सोच बनाए। तर विदेशिने निर्णय नगरी २०७२ साल पुसमा मन्थलीको कुडहरमा सरेर दुईवटा गाईबाट दुग्ध व्यवसाय सुरु गरे।

दुईवटा गाईबाट सुरु भएको यात्रा आज ठूलो कृषि उद्यममा परिणत भएको छ। हाल उनको गोठमा माउ र बाच्छी गरी १३ वटा गाई छन्। पाँचवटा दुहुना गाईबाट दैनिक १५ देखि २५ लिटरसम्म दूध उत्पादन हुन्छ भने अन्य गाई पनि ब्याउने तयारीमा छन्। उत्पादन भएको दूध स्थानीय बजारमा नियमित रूपमा बिक्री हुने गरेको छ।

दुग्ध व्यवसायसँगै उनले तरकारी खेती र लेयर्स कुखुरापालनलाई पनि निरन्तरता दिएका छन्। गाईबाट निस्कने गोबरलाई जैविक मलका रूपमा प्रयोग गर्दै खेतीलाई थप उत्पादनमुखी बनाएका छन्। यसले लागत घटाउनुका साथै कृषि प्रणालीलाई दिगो बनाएको छ। ईश्वर र उनकी श्रीमती दुवैले कृषि कर्मलाई साझा जिम्मेवारीका रूपमा अघि बढाएका छन्।

बिहानदेखि गाईलाई घाँस–कुँडो हाल्ने, दूध दुहुने, गोठ सरसफाइ गर्ने तथा दूध बजारसम्म पु¥याउने काम उनीहरू मिलेर गर्छन्। बाँकी समय तरकारी र कुखुराको हेरचाहमा बित्ने गरेको छ। उनका अनुसार कृषि क्षेत्रमा सफलता प्राप्त गर्न ठूलो पूँजीभन्दा पनि धैर्यता, निरन्तरता र मेहनत आवश्यक हुन्छ। सुरुवातमा चुनौती धेरै भए पनि विस्तारै उत्पादन बढाउँदै जाँदा आम्दानी पनि बढेको अनुभव उनले सुनाउँछन्।

दुई छोराका अभिभावक घिमिरे दम्पती आफ्नै गाउँमा बसेर सम्मानजनक जीवनयापन गरिरहेका छन्। उनीहरूको अनुभवले मेहनत गर्न तयार हुनेका लागि गाउँमै पनि प्रशस्त अवसर रहेको सन्देश दिन्छ। युवा पलायनको क्रम अझै जारी रहे पनि ईश्वर घिमिरेजस्ता कृषकले आफ्नै माटोमा सम्भावना खोज्न सकिने उदाहरण प्रस्तुत गरेका छन्।

सीमित स्रोतबाट सुरु भएको उनको यात्रा अहिले सफल कृषि उद्यममा रूपान्तरण भएको छ। उनी भन्छन्, मेहनत गर्न सक्ने हो भने अवसर खोज्न टाढा जानुपर्दैन, आफ्नै गाउँको माटोले पनि भविष्य बनाउन सक्छ।ू