काठमाडौं । आफ्ना समस्या समाधान गर्न सरकारसँग माग गर्दै पोल्ट्री किसानहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
किसानहरूले भारतीय कुखुराको तस्करी नियन्त्रण गर्नुपर्ने, कोल्ड स्टोरमा हुने कमिसनखोरी रोक्नुपर्ने तथा पोल्ट्री क्षेत्रका समस्या तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन्।
प्रदर्शनमा सहभागी किसानहरूले ‘भारतीय कुखुरा तस्करी बन्द गर’, ‘कोल्ड स्टोरको कमिसन बन्द गर’, ‘पोल्ट्री किसानका माग पूरा गर’ र ‘साना किसानको विस्थापन बन्द गर’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
किसानहरूले पछिल्लो अवस्थाका कारण साना पोल्ट्री व्यवसायी तथा किसान थप समस्यामा परेको भन्दै सरकारले आफूहरूका माग सम्बोधन गर्नुपर्ने बताएका छन्। उनीहरूले पोल्ट्री व्यवसायलाई व्यवस्थित र किसानमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराउँदै माग पूरा नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने संकेतसमेत दिएका छन्।




































