काठमाडौं । १५ बुँदे माग राखेर छ दिनदेखि आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाटको समर्थनमा काठमाडौंको वीर अस्पताल परिसरमा प्रदर्शन गरिएको छ।
नर्स तथा स्वास्थ्यकर्मीहरूले न्यूनतम पारिश्रमिक, श्रम शोषण अन्त्य र सम्मानजनक कार्य वातावरणको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले ‘ताली होइन, तलब चाहियो’, ‘उचित तलब हाम्रो अधिकार’, ‘स्वास्थ्य सेवा नर्सका कारण चल्छ, तारिफले होइन’ र ‘शोषणलाई समर्पण नभन’ लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।
रानाभाट १४ साउनदेखि नर्स तथा मिडवाइफहरूको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, श्रम शोषण अन्त्य गर्नलगायत १५ बुँदे माग राखेर आमरण अनशनमा बसिरहेकी छन्।
आन्दोलनरत नर्सहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। हालसम्म मागका विषयमा सरकारको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।




































