काठमाडौं । मध्यपूर्वको सुरक्षा समीकरण फेरि एकपटक तातिने संकेत देखिएको छ। अमेरिका र इजरायलसँगको लामो सैन्य तनावबीच इरानले चीनसँग ठूलो सैन्य सम्झौता गरेको दाबी सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय समुदायको ध्यान फेरि यस क्षेत्रमा केन्द्रित भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्स ले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै इरानले चीनबाट करिब ३०० देखि ४०० वटा काँधमा बोकेर प्रहार गर्न सकिने हवाई प्रतिरक्षा मिसाइल प्रणाली ९म्यानप्याड्स० खरिद गर्न सम्झौता गरेको जनाएको छ। यीमध्ये क्युडब्लु–१२ र एफएन–१६ मिसाइल प्रणाली समावेश रहेको दाबी गरिएको छ। सम्झौताको अनुमानित मूल्य ६० देखि ७० मिलियन अमेरिकी डलर रहेको बताइएको छ।
प्रतिवेदनअनुसार हतियारको आपूर्ति पश्चिमी चीनको उरुम्छीबाट सुरु भएर पाकिस्तान हुँदै इरान पुर्याउने योजना रहेको उल्लेख गरिएको छ। तर यो दाबी सार्वजनिक भएसँगै पाकिस्तान र चीन दुवैले त्यसको कडा खण्डन गरेका छन्।
पाकिस्तानी सेनाको आईएसपीआर ले यस्तो खबरलाई ूपूर्ण रूपमा मनगढन्ते र झुटोू भनेको छ भने चीनको परराष्ट्र मन्त्रालयले पनि ूनिराधार दाबीू भन्दै अस्वीकार गरेको छ। बेइजिङले आफू युद्ध विस्तार होइन, शान्ति र संवादको पक्षमा रहेको दोहोर्याएको छ।
सैन्य विश्लेषकहरूका अनुसार यदि यस्तो सम्झौता कार्यान्वयन भयो भने इरानको छोटो दूरीको हवाई प्रतिरक्षा क्षमता उल्लेखनीय रूपमा बलियो बन्न सक्छ। विशेषगरी ड्रोन, हेलिकप्टर र कम उचाइमा उड्ने युद्धक विमानविरुद्ध यस्ता पोर्टेबल मिसाइल प्रभावकारी मानिन्छन्।
यद्यपि सम्झौताको कार्यान्वयन, डेलिभरी तालिका र वास्तविक आपूर्ति प्रक्रियाबारे आधिकारिक पुष्टि भइसकेको छैन। त्यसैले सार्वजनिक भएका विवरणहरूलाई अहिले दाबी र प्रतिदाबी को रूपमा हेरिएको छ।
यो घटनाक्रमले इरान–चीन सैन्य सहकार्य, पाकिस्तानको सम्भावित भूमिकाबारे उठेका प्रश्न र मध्यपूर्वको बदलिँदो शक्ति सन्तुलनलाई लिएर नयाँ बहस सुरु गराएको छ।






































