काठमाडौं । चिकित्सकमाथिको आक्रमणको विरोधमा नेपाल चिकित्सक सङ्घले थालेको आन्दोलन दोस्रो दिन पनि जारी रहँदा देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा ठप्प भएका छन्। आन्दोलनका कारण नियमित उपचार, ओपीडी, शल्यक्रिया तथा स्वास्थ्य परीक्षण प्रभावित हुँदा सबैभन्दा ठूलो मार बिरामीमाथि परेको छ।

नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका दोषीलाई कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी सङ्घले दिएको छ।

आन्दोलनको असर राजधानीदेखि जिल्ला अस्पतालसम्म देखिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामी ओपीडी सेवा नपाएर निराश फर्किन बाध्य भएका छन्। केही बिरामी आकस्मिक कक्षमा पुगेका छन् भने कतिपय वैकल्पिक अस्पतालको खोजीमा भौंतारिएका छन्।

यता बिरामी र उनीहरूका आफन्तले स्वास्थ्य सेवा अवरुद्ध हुँदा उपचारको मौलिक अधिकार प्रभावित भएको भन्दै सरकारसँग तत्काल चिकित्सकका जायज माग सम्बोधन गरेर अस्पतालको सेवा नियमित सञ्चालन गराउन आग्रह गरेका छन्। स्वास्थ्य सेवा अवरुद्ध हुँदै जाँदा सरकारमाथि समस्या छिटो समाधान गर्न दबाब पनि बढ्दै गएको छ।