काठमाडौँ । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीको सिफारिसमा स्वीकृत गरेकी हुन्।

राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।

जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै करिब एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) ले आन्दोलन गर्दै आएको थियो।

शनिबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता सम्पन्न भएपछि सीजेपीले आन्दोलनकारीलाई घर फर्किन अपिल गरेको छ।

यस आन्दोलनले गत जुलाई १८ मा नयाँ मोड लिएको थियो। त्यसदिन अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकलाई दिल्ली प्रहरीले जबर्जस्ती उठाएर सफदरजंग अस्पतालमा भर्ना गरेको थियो।

सोनम वाङचुक र सीजेपीले संसद्को मनसुन अधिवेशन सुरु हुने जुलाई २० मा संसद मार्च गर्ने घोषणा गरेका थिए। तर त्यसअघि नै वाङचुकलाई आन्दोलनस्थलबाट हटाइएपछि जन्तर–मन्तरमा युवाको भीड झन् बढेको थियो।

जुलाई २० मा वाङचुकबिनै आन्दोलनकारीहरू संसदतर्फ अघि बढ्दा प्रहरीले उनीहरूलाई रोक्न बल प्रयोग गरेको थियो। त्यसक्रममा सुरक्षाकर्मीले धेरै युवामाथि कुटपिट गरेको आरोप लागेको थियो।

घटनाका भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका थिए, जसले यस विषयलाई राष्ट्रिय राजनीतिक मुद्दाको रूप दिएको थियो।

त्यसपछि धर्मेन्द्र प्रधानको राजीनामासँगै आन्दोलनकारीमाथि लाठीचार्ज गर्ने प्रहरीमाथि पनि कारबाहीको माग चर्किएको थियो।

यही मागलाई समर्थन गर्दै कांग्रेस सांसद तथा विपक्षी दलका नेता राहुल गान्धी अन्य विपक्षी नेतासहित प्रधानमन्त्री निवासबाहिर धर्नामा बसेका थिए।