काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ राजनीतिक शक्ति कक्रोच जनता पार्टी (सिजेपी) ले आयोजना गरेको ‘चलो संसद’ प्रदर्शनले सोमबार संसद क्षेत्र तनावग्रस्त बनेको छ। संसद भवनतर्फ हजारौं प्रदर्शनकारी अघि बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

जन्तरमन्तरबाट सुरु भएको मार्च संसद भवन नजिक पुग्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। केही प्रदर्शनकारीले ब्यारिकेड हटाएर अगाडि बढ्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज प्रयोग गरेको बताइएको छ।

यता, संसदको मनसुन अधिवेशन चलिरहेका बेला बाहिरको आन्दोलनले राजनीतिक माहोल थप तातिएको छ। सुरक्षा संवेदनशीलता बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदी लगायत शीर्ष नेताहरू संसद भवनबाट बाहिरिएका बताइएको छ।

प्रदर्शनको नेतृत्व गरिरहेका कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिप्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको पक्राउसँगै आन्दोलनकारीहरूले सरकारविरुद्ध थप नाराबाजी गरेका छन्।