काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो संयुक्त हवाई आक्रमण गरेको छ। रातभर चलेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई ूकिभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एकू भन्दै रुसले मिसाइल र ड्रोनको व्यापक प्रयोग गरेको बताएका छन्। युक्रेनी वायुसेनाका अनुसार आक्रमणमा इस्कान्देर र हाइपरसोनिक जिर्कोन मिसाइलसहित १२५ ड्रोन प्रयोग गरिएको थियो। युक्रेनले ४१ मध्ये १८ मिसाइल र १०८ ड्रोन खसालेको दाबी गरेको छ।

आक्रमणका कारण आवासीय भवन, सुपरमार्केट, छात्रावास र गोदामहरूमा ठूलो क्षति पुगेको छ भने धेरै स्थानमा आगलागी भएको छ।रुसको यो हमला युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी ‘वाइल्डबेरीज’का दुई गोदाममा ड्रोन आक्रमण गरेपछि भएको जवाफी कारबाहीका रूपमा हेरिएको छ।

युद्ध अझ तीव्र बन्दै जाँदा जेलेन्स्कीले पछिल्लो एक सातामै रुसले करिब १,४५० ड्रोन, १,६४० भन्दा बढी निर्देशित बम र ९९ मिसाइल प्रहार गरेको जानकारी दिएका छन्।