काठमाडौं । होर्मुज जलडमरूमध्यमा तेल ट्याङ्करमाथि भएको क्षेप्यास्त्र आक्रमणमा एक भारतीय नागरिकको ज्यान गएपछि भारतले इरानसँग कडा जवाफ मागेको छ। नयाँ दिल्लीले इरानी कूटनीतिज्ञलाई परराष्ट्र मन्त्रालयमा बोलाएर घटनाबारे औपचारिक स्पष्टीकरण माग्दै असन्तुष्टि जनाएको हो।

संयुक्त अरब इमिरेट्सका अनुसार ‘मोम्बासा’ र ‘बहिया’ नामका दुई तेल ट्याङ्करलाई लक्षित गरी गरिएको आक्रमणपछि दुवै जहाजमा आगलागी भएको थियो। घटनामा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। गम्भीर घाइतेमध्ये चार भारतीय र दुई युक्रेनी नागरिक रहेका छन्।

यता, घटनाको केही घण्टामै अमेरिकाले इरानका बुशेहर, चाहबहार, जास्क, कोनार्क, अबु मुसा र बन्दर अब्बास क्षेत्रमा रहेका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको जनाएको छ।

होर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा संवेदनशील तेल ढुवानी मार्ग मानिन्छ। यहाँको पछिल्लो घटनाले भारत–इरान सम्बन्धमा तनाव बढाउने संकेत मात्रै होइन, समग्र मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्न सक्ने चिन्ता पनि बढाएको छ।