काठमाडौं। विदेश अध्ययनको नाममा मनपरी गर्ने शैक्षिक परामर्श संस्थामाथि सरकारले कडा कदम चालेको छ। दर्ता प्रक्रिया नै पूरा नगरी विद्यार्थी विदेश पठाइरहेका १५ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा चलाउने निर्णय भएसँगै १८ जना सञ्चालक र म्यानेजर पक्राउ परेका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयको निर्णयपछि दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका १५ वटा शैक्षिक परामर्श संस्थाविरुद्ध कानुनी कारबाही सुरु भएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले ती कन्सल्टेन्सीका सञ्चालक र म्यानेजरसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
यसअघि जेठ १ गते प्रहरीले काठमाडौं उपत्यकाका १९५ वटा कन्सल्टेन्सीमा छापा मारेर ६८ जनालाई पक्राउ गरेको थियो। त्यसमध्ये दर्ता प्रक्रियामै रहेका १५ वटा कन्सल्टेन्सीलाई हाजिर जमानीमा छाडेर मन्त्रालयको निर्णय पर्खिएको थियो।
अब शिक्षामन्त्रीको निर्णयपछि उनीहरूलाई शिक्षा ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। प्रहरीले दर्ता प्रक्रियामै रहेका अन्य कन्सल्टेन्सीको गतिविधिमाथि पनि निगरानी र अनुसन्धान जारी रहेको जनाएको छ।
विद्यार्थीलाई विदेश पठाउने व्यवसायमा बढ्दो अनियमिततामाथि सरकारले कडा सन्देश दिएको छ। अब कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन हुने शैक्षिक परामर्श संस्था थप निगरानी र कारबाहीको दायरामा पर्ने देखिएको छ।



































