एजेन्सी । हिजबुल्लाह र इजरायलबीचको महिनौं लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले युद्धविराम लागू गरियो। तर युद्धविराम लागू भएको केही घण्टामै लेबनानमा फेरि हवाई आक्रमण भएको छ। इजरायली आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। युद्धविरामपछि पनि हिंसा नरोकिँदा मध्यपूर्वमा फेरि तनाव बढेको छ। 

युद्धविराम लागू भएपछि लेबनानमा शान्ति फर्किने अपेक्षा गरिएको थियो। तर त्यो अपेक्षा धेरै समय टिक्न सकेन।शनिबार दक्षिणी लेबनान र बेका उपत्यकाका विभिन्न क्षेत्रमा इजरायलले हवाई आक्रमण गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। युद्धक विमान र ड्रोनमार्फत गरिएको आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको बताइएको छ।

सबैभन्दा बढी क्षति दक्षिणी टायर जिल्लाको बारिश सहरमा भएको छ। त्यहाँ एक आवासीय भवनमा भएको आक्रमणमा एकै परिवारका बाबु, आमा र दुई सन्तानको मृत्यु भएको छ।आक्रमणपछि उद्धारकर्मीहरू भग्नावशेषबाट मानिसको खोजी तथा उद्धारमा जुटेका थिए भने स्थानीय बासिन्दामा त्रास फैलिएको छ।

इजरायलले भने यी आक्रमणहरू हिजबुल्लाहको हमलाको जवाफस्वरूप गरिएको दाबी गरेको छ। इजरायली सेनाका अनुसार हिजबुल्लाहले दक्षिणी लेबनानमा रहेका इजरायली फौजलाई लक्षित गर्दै ५० भन्दा बढी रकेट तथा प्रक्षेप्य प्रहार गरेको थियो।

तर हिजबुल्लाहले इजरायलमाथि नै युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। समूहले लगातार आक्रमण भइरहे आफूहरूले प्रतिकार गर्ने चेतावनी पनि दिएको छ। युद्धविराम लागू भएको दिनमै दुवै पक्षबीच आरोप–प्रत्यारोप र सैन्य गतिविधि बढेपछि शान्ति प्रक्रिया कमजोर बन्ने चिन्ता बढेको छ। यता, इजरायली आक्रमणबाट लेबनानको केन्द्रीय बैंकको नाबातिये शाखा भवन ध्वस्त भएको छ। कफाररुम्मान–नाबातिये सडक खण्डमा भएको अर्को आक्रमणमा एक लेबनानी सैनिकको पनि मृत्यु भएको बताइएको छ।

इजरायली सेनाले आफू राजनीतिक नेतृत्वको निर्देशनअनुसार युद्धविराम पालना गरिरहेको दाबी गरेको छ। तर लेबनानमा निरन्तर भइरहेका आक्रमणका घटनाले युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठाएको छ।युद्धविराम लागू भए पनि लेबनान र इजरायलबीचको तनाव अझै साम्य भएको देखिएको छैन। पछिल्ला घटनाक्रमले मध्यपूर्वमा स्थायी शान्तिको प्रयासलाई थप चुनौतीपूर्ण बनाएको छ।