एजेन्सी । अमेरिका र इरानबीच युद्ध अन्त्यपछि हुने भनिएको पहिलो प्रत्यक्ष वार्ता अन्तिम समयमा आएर स्थगित भएको छ। स्विट्जरल्यान्डमा तय भएको बहुप्रतीक्षित भेटवार्ता रद्द भएसँगै शान्ति प्रक्रियामाथि नयाँ आशंका पैदा भएको छ। आखिर किन रोकियो वार्ता ? के यो सामान्य प्राविधिक समस्या हो, वा पर्दापछाडि अझै गहिरो अविश्वास लुकेको छ ?

युद्ध रोकिएपछि सम्बन्ध सुधारको संकेत देखाइरहेका अमेरिका र इरान फेरि एकपटक अनिश्चितताको मोडमा पुगेका छन्। स्विट्जरल्यान्डमा शुक्रबार हुने भनिएको प्रत्यक्ष वार्ता अन्तिम समयमा स्थगित भएपछि दुई देशबीचको सम्बन्ध सामान्यीकरणको प्रक्रिया झट्का खाएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय गरेको भ्रमण रद्द गरेपछि वार्ता पनि स्वतः रोकिएको हो। ह्वाइट हाउसले यसलाई व्यवस्थापन र प्राविधिक तयारीसँग जोडेको छ। तर अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तले भने यो व्याख्यालाई सहज रूपमा स्वीकार गरेको छैन। किनभने वार्ता स्थगित हुनु केही घण्टाअघि मात्रै इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले प्रत्यक्ष संवादका लागि स्वीकृति दिएका थिए। अर्थात् तेहरान वार्ताका लागि तयार देखिएको थियो।


तर त्यही समयमा मध्यपूर्वमा बढ्दो सुरक्षा चुनौती, विशेषगरी लेबनन क्षेत्रमा कायम तनावले वाशिङ्टनलाई थप सतर्क बनाएको विश्लेषण भइरहेको छ।  प्रश्न उठेको छ- यदि दुवै पक्ष वास्तवमै शान्ति चाहन्थे भने अन्तिम घडीमा किन रोकियो वार्ता ? के अमेरिका अझै इरानमाथि पूर्ण विश्वास गर्न सकेको छैन ?  वा इरानले पनि वार्तालाई दबाब सिर्जना गर्ने कूटनीतिक हतियारका रूपमा प्रयोग गरिरहेको छ? 

जे भए पनि शान्तिको सन्देश दिने भनिएको बैठक नहुनुले युद्ध त रोकिएको होला, तर अविश्वासको युद्ध अझै जारी रहेको सन्देश दिएको छ। युद्धविरामपछि सम्बन्ध सुधारको आशा पलाएको थियो। तर स्विट्जरल्यान्डमा हुने भनिएको वार्ता नै स्थगित भएपछि अमेरिका र इरानबीचको दूरी अझै घटिनसकेको स्पष्ट संकेत देखिएको छ। 

अब विश्वको नजर वार्ता कहिले हुन्छ भन्नेभन्दा पनि, दुवै पक्ष वास्तवमै वार्ताप्रति कति इमानदार छन् भन्ने प्रश्नमा केन्द्रित भएको छ।