काठमाडौं । फिफा विश्वकपअन्तर्गतको प्रतिस्पर्धात्मक खेलमा दक्षिण कोरियाले चेकियामाथि शानदार पुनरागमन जित दर्ता गरेको छ। दोस्रो हाफमा दुई गोल गर्दै दक्षिण कोरियाले २–१ को नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेकियाले दोस्रो हाफको सुरुवातमै अग्रता लिएको थियो। ५६औँ मिनेटमा कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाएका थिए।
तर त्यो अग्रता लामो समय टिक्न सकेन। दक्षिण कोरियाका ह्वाङ इबोनले ६७औँ मिनेटमा गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि ८०औँ मिनेटमा ओ हेन्युले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई महत्वपूर्ण जित दिलाए।
२० वर्षपछि विश्वकपमा फर्किएको चेकियाले राम्रो सुरुआत गरे पनि अन्तिम समयमा खेल जोगाउन नसक्दा हार बेहोर्नुपरेको हो। जितसँगै दक्षिण कोरियाले प्रतियोगितामा महत्वपूर्ण तीन अंक बटुलेको छ।





































