काठमाडौं । नेपाली फुटबल फेरि अन्तर्राष्ट्रिय प्रतिबन्धको संघारमा पुगेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपलाई सन्देश दिँदै एन्फाको कामकारबाहीमा भएको हस्तक्षेप पूर्ण रूपमा फिर्ता नलिए एन्फालाई तत्काल निलम्बन गर्न सकिने चेतावनी दिएको छ।

फिफा र एएफसीले राखेपको २५ मार्चको निर्णयलाई फुटबलको स्वायत्ततामाथिको सीधा हस्तक्षेप भन्दै आपत्ति जनाएका छन्। एन्फाको निर्वाचन रोक्ने, विधान संशोधन गर्न दबाब दिने र जिल्ला संघहरूलाई निर्देशन दिने निर्णय अन्तर्राष्ट्रिय फुटबल नियमविपरीत रहेको फिफाको निष्कर्ष छ।

११ जुनभित्र सबै विवादित निर्णय खारेज गरिएको लिखित सुनिश्चितता दिन फिफाले नेपाललाई अन्तिम समयसीमा दिएको छ। अन्यथा एन्फालाई निलम्बनका लागि सीधै फिफा काउन्सिलमा प्रस्ताव लैजाने चेतावनी पत्रमा उल्लेख छ।

यसले नेपाली फुटबलमाथि गम्भीर संकट खडा गरेको छ। निलम्बन भए राष्ट्रिय टोलीदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिरिन सक्नेछन् भने फिफा र एएफसीबाट प्राप्त हुने आर्थिक तथा प्राविधिक सहयोगसमेत रोकिएर नेपाली फुटबल ठूलो क्षतिमा पर्न सक्छ।

फिफाको यो पत्रलाई नेपाली फुटबल प्रशासनमाथिको अहिलेसम्मकै कडा दबाबका रूपमा हेरिएको छ। अब केही दिनभित्र हुने निर्णयले नेपाली फुटबल अन्तर्राष्ट्रिय रंगमञ्चमा रहने कि फेरि प्रतिबन्धको अन्धकारमा धकेलिने भन्ने टुंगो लगाउनेछ।