काठमाडौं । वैदेशिक रोजगारीको नाममा अमेरिका पठाइदिने आश्वासन दिएर एक महिलालाई विदेशमा अलपत्र पारेको आरोपमा नेपाली कांग्रेसका निर्वाचित वडाध्यक्ष शिवबहादुर थापा पुर्पक्षका लागि जेल चलान भएका छन्।
स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष थापालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामा राखेर मुद्दाको थप सुनुवाइ गर्न आदेश दिएको हो। आरोप अनुसार थापाले पीडितलाई अमेरिका लैजाने भन्दै रकम लिएर विभिन्न देश घुमाएका थिए। तर अन्ततः विदेशमै अलपत्र छाडेर आफू नेपाल फर्किएपछि पीडितले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएकी थिइन्।
उक्त उजुरीपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो। अदालतले प्रारम्भिक प्रमाण र घटनाको प्रकृति हेर्दै थापालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो। २०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित थापाले करिब १५ महिनासम्म वडाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। पछि स्वास्थ्य उपचारको कारण देखाउँदै कार्यवाहक जिम्मेवारी दिएर काठमाडौं बसेका उनी अहिले मानव बेचबिखन मुद्दामा जेल पुगेका छन्।






































