काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको नेतृत्वमाथि अध्यागमनले ब्रेक लगाएको छ। फिफा विश्वकप फुटबल अवलोकनका लागि मेक्सिको जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।
मंगलबार बिहान अन्तर्राष्ट्रिय उडान समात्न विमानस्थल पुगेका उनीहरूलाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिएपछि यात्रा रोकिएको हो। अध्यागमन विभागका अनुसार दुवै जनाको राहदानी ‘वाच लिस्ट’मा रहेकाले विदेश जान रोक लगाइएको हो।
अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले मेक्सिको प्रस्थान गर्ने तयारीमा रहेका नेम्वाङ र राईलाई नियमअनुसार अफलोड गरिएको जानकारी दिएका छन्। स्रोतका अनुसार राष्ट्रिय खेलकुद परिषद्को सिफारिसपछि उनीहरूको नाम निगरानी सूचीमा समावेश गरिएको थियो।
विश्व फुटबलको महाकुम्भ हेर्न जाने योजनामै रहेका एन्फाका दुई शीर्ष अधिकारी विमानस्थलबाटै फर्किएपछि खेलकुद क्षेत्रमा तरंग पैदा भएको छ। विशेषगरी राहदानी ‘वाच लिस्ट’मा किन राखियो भन्ने प्रश्नले अहिले थप चर्चा पाएको छ।





































