भक्तपुर । भक्तपुरमा भएको आफ्नै श्रीमती हत्या प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका विदुर विश्वकर्माले प्रहरीसमक्ष सनसनीपूर्ण बयान दिएका छन्। उनले पत्नी सलिना तोलाङ्गे अन्य पुरुषहरूसँग नजिक रहेको आशंका गर्दै आफू आवेगमा पुगेको बताएका छन्। प्रहरी स्रोतका अनुसार विदुरले बयानका क्रममा तीन जनाको नामसमेत उल्लेख गरेका छन्। तर अनुसन्धान अधिकारीहरूले उनको भनाइलाई मात्र आधार बनाएर निष्कर्षमा पुग्न नसकिने बताएका छन्।

प्रहरीका अनुसार मदिरा सेवनपछि उत्पन्न विवादले उग्र रूप लिँदा घटना भएको प्रारम्भिक संकेत देखिएको छ। घटनामा सलिनाको ज्यान गएको थियो भने झगडाको बीचमा परेका उनीहरूका ८ वर्षीय छोरा पनि घाइते भएका थिए। उपचारपछि बालकको अवस्था सामान्य रहेको छ। स्थानीयका अनुसार दम्पतीबीच बेलाबेलामा विवाद हुने गरेको थियो। विदुर अत्यधिक मदिरा सेवन गर्ने र घरमा झगडा हुने गरेको छिमेकीहरूको भनाइ छ।

प्रहरीले अहिले हत्या पछाडिको वास्तविक कारण, पारिवारिक सम्बन्ध र अन्य सम्भावित पक्षबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। विदुरले उठाएका आरोप सत्य हुन् वा होइनन् भन्ने विषय पनि अनुसन्धानपछि मात्र स्पष्ट हुने अधिकारीहरूको भनाइ छ।घटनाले फेरि एकपटक घरेलु हिंसा, मदिरा दुव्र्यसन र पारिवारिक असमझदारीले निम्त्याउने दुःखद परिणामबारे गम्भीर प्रश्न उठाएको छ।