रसुवा। नेपालको प्रमुख हिमाली गन्तव्य लाङटाङमा साहसिक खेल र पर्यटनलाई जोड्ने उद्देश्यसहित दोस्रो लाङटाङ ट्रेल रन सुरु भएको छ।क्यान्जिन गुम्बाबाट सुरु भएको ३२ किलोमिटर लामो दौडमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी धावक सहभागी भएका छन्। प्रतियोगिताले लाङटाङ क्षेत्रको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार यो केवल खेलकुद प्रतियोगिता मात्र नभई लाङटाङलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा चिनाउने अभियान पनि हो। हिमालको काखमा आयोजना गरिएको ट्रेल रनले स्थानीय पर्यटन व्यवसायलाई समेत टेवा पुग्ने विश्वास लिइएको छ।

बागमती प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ।

पर्यटन र खेलकुदलाई एकसाथ अघि बढाउने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगिताले लाङटाङको पहिचानलाई थप उचाइमा पुर्‍याउने अपेक्षा आयोजकले गरेको छ ।